पोखरा(कास्की), ३ कार्तिक । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद ६ हजार १ सय २७ खेलाडीको प्रतिस्पर्धासँगै बिहीबार सकिएको छ ।
प्रतियोगितामा ३८ खेलमा सर्वाधिक १ सय ७२ स्वर्ण जित्दै नेपाल आर्मीले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी उचाल्यो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा भव्य समापन समारोह आयोजना गरिएको थियो।
१० औं राष्ट्रिय खेलकुद २०८१ मा कर्णाली प्रदेशमा आयोजना गर्ने गरी नवौं संस्करण सम्पन्न भयो ।
प्रधानमन्त्रीको संवोधन
समापन समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताउनुभयो । उहाँले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुत खेलकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।
चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुद लगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।”
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी संख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएको थियो । ६ हजारभन्दा बढी खेलाडीले ४ सय ७ स्वर्णलगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए ।”


















