Prakash Adhikari February 2, 2023

काठमाडौं, १९ माघ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ। बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कार्यसमितिको बैठक बोलाइएको हो।

राष्ट्रियसभा उपाध्यक्ष र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताउनुभएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गम्भीर छलफल गरेर मात्र आवश्यक निर्णय लिनेगरी बैठक बोलाइएको उहाँले बताउनुभयो।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेसले त्यसबारे पनि छलफल तिव्र बनाएको छ। १० पौष मा प्रधानमन्त्री नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति आफूले पाउनुपर्ने दावी आएको छ।

सत्तारुढ गठबन्धनको प्रमुख साझेदार नेकपा एमालेले राष्ट्रपति पद आफ्नो भागमा परेको भन्दै कांग्रेसलाई नदिने बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राष्ट्रपति सहमतिमा नै निर्वाचित गर्नुपर्ने र मुख्य दलहरुबीच मुख्य पदमा भागवण्डा हुनुपर्ने अडानमा हुनुहुन्छ । जस अनुरुप कार्यकारी प्रमुख प्रधानमन्त्री नेकपा माओवादी केन्द्रले , विधायिका प्रमुख प्रतिनिधिसभा सभामुख नेकपा एमालेका देवराज घिमिरेले पाइसक्नुभएको छ । प्रधानमन्त्रीको संकेत अव राष्ट्रपति कांग्रेसलाई दिनुपर्छ भन्ने रहेको छ ।

 

Share Now

Leave a comment.