Prakash Adhikari August 14, 2023

 

काठमाडौं, २९ श्रावण । कोशी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्।

सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोशी नदीमा भारतले कोशी नहर बनाउदा बनाएको बाँधलाई कोशी ब्यारेज भनिन्छ । यही बाँधको पर्खालको माथिल्लो भागबाट सडक यातायात पनि चल्दछ । यो बाँधको पर्खाल १ हजार १ सय ७५ मिटर छ । यही सप्तकोशी पुलले कोशीको पूर्व र पश्चिमलाई राजमार्गसंग जोडेको छ।

बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्।

आज (सोमबार०) बिहान ४ बजेदेखि अहिलेसम्म निरन्तर रूपमा ब्यारेजमा प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी उच्च गतिमा बगिरहेको छ।

कोशी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो। कोशी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

नारायणीको जल सतह अझै सतर्कता तहमाथि

यता सप्त गण्डकीको रुपमा चिनिने नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।

आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ । देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ । नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ ।

आजदेखि पानी मत्थर हुने

आज (सोमबार) देखि पानी पर्न केही कम हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् बिनु महर्जनका अनुसार आज हिजो (आइतबार) जस्तो धेरै ठाउँमा भारी वर्षा, धेरै भारी वर्षा र अति भारी वर्षाको सम्भावना छैन।

‘आज देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र एक दुई ठाउँमा मात्र भारी वर्षाको सम्भावना छ’, उहाँले भन्नुभयो।

शनिबार रातिदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको थियो भने कतिपय स्थानमा धेरै भारी र अति भारी वर्षासमेत भइरहेको थियो।

तर आजदेखि त्यो क्रम घटेर जाने सम्भावना देखिएको मौसमविद्को भनाइ छ।

‘अहिलेसम्मको अनुमानमा आगामी तीन दिन (बुधबारसम्म) भारी वर्षाको सम्भावना धेरै देखिएको छैन’, मौसमविद् महर्जनले भन्नुभयो।

उहाँका अनुसार यतिबेला (सोमबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा मात्र भइरहेको छ। ‘अरू ठाउँमा पानी परेको देखिन्न’, मौसमविद् महर्जनले भन्नुभयो।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षा हुनसक्छ।

यस्तै राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

तर पनि पहिलेकै भीषण वर्षाले जमिन गलिसकेका कारण अब कम पानी परे पनि बाढी, पहिरोको जोखिम भने रहन्छ।

यसै क्रममा महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ– सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Share Now

Leave a comment.