Prakash Adhikari August 22, 2023

 

क्वाललम्पुर(मलेसिया), ५ भाद्र । मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी २० क्रिकेट सिरिजमा नेपाली महिला क्रिकेट टीम आज हङकङसँग भिड्दै छ ।

नेपाल र हङकङबीचको स्थानीय समय अनुसार दिउँसो २ बजे खेल बायुमास ओभलमा सुरु हुनेछ ।

त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ ।

यही अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी २० विश्वकप एसिया छनोट खेलको तयारी स्वरुप चारदेशीय टी २० सिरिज खेल्न लागिएको हो ।

तयारी खेलमा नेपाल, मलेसिया, हङकङ र कुवेतले टी २० आई सिरिजमा प्रतिस्पर्धा गर्ने छन् । खेलमा नेपालको कप्तानी रुविना क्षेत्री बेलबासे र हङकङको केरी चानले कप्तानी गर्नेछन् ।

नेपाल यो खेलमा हंगकंगलाई हराएर सुखद् सुरुआत गर्न चाहन्छ ।

गत जुनमा भएको इमर्जिङ कपमा भने नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित हुँदा रद्द भएको थियो ।

२०१९ मा टी २० विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

यस्तै २०२१ मा भएको टी २० विश्वकप एसिया क्वालिफायरमा भने नेपाल हङकङसँग पराजित भएको थियो । यस्तै गत वर्ष भएको एसीसी महिला टी २० च्याम्पियनसिपमा पनि नेपाल हङकङसँग पराजित भएको थियो ।

Image

नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । यदी नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि सोही दिन खेल्नेछन् । नेपाल २८ अगष्टमा थाईल्यान्डसँग खेल्नेछ ।

एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

नेपालको टोली

रुविना क्षेत्री बेल्बासे(कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

Share Now

Leave a comment.