
काठमाडौं, ५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ।
पूर्वनिर्धारित कार्यक्रमबमोजिम राष्ट्रपतिले आज बिहान सबै राजनीतिक दललाई छलफलका लागि शीतल निवास बोलाउनुभएको हो।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल सहभागी छन्। नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक महिनादेखि संसद्मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो।
संसद सुचारु गरेर संसदभित्रबाटै निकास निकाल्ने प्रयास गर्न राष्ट्रपति पौडेलले यस पहिले ठूला पार्टीका शीर्ष नेताहरुलाई एक्लाएक्लै बोलाएर वार्ता गर्नुभएको थियो ।
सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा तस्करी रोक्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएपछि संसद्को अवरोध हटाउन एमाले तयार भएको छ। आजैबाट संसद् बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ।
आजको सर्वदलीय बैठकमा राष्ट्रपतिले दलहरूसँग देशका अन्य समसामयिक विषयमा छलफल गर्ने शीतल निवास स्रोतले जानकारी दिएको छ।