Prakash Adhikari August 22, 2023

काठमाडौं, ५ भाद्र । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेपछि यसमा काम गरिरहेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको सरुवा भएको छ ।

गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालय रानी पोखरीका एआईजी श्याम ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीको सरुवा गरेको हो ।

कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ भने केसीलाई प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ ।

केसीले हालै थप १८ जनाको जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गर्नुभएको थियो । त्यसपछि उहाँलाई हटाउन शक्तिकेन्द्रको दबाव बढेको थियो ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ ।

शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी श्याम ज्ञवालीका ठाँउमा एआईजी दिपक थापा ल्याइएको छ।

Share Now

Leave a comment.