Prakash Adhikari January 6, 2024

काठमाडौं, २१ पौष । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा दिइएको कर छुटले सर्वसाधरणलाई सहज हुनुपर्ने कुरा बताउनुभएको छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन  (नाडा)को ४७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महतले करमा व्यवसायीले पाएको सहुलियत नागरिकमा ट्रान्सफर हुनुपर्ने बताउनुभएको हो।

‘सरकारले जनतालाई पनि सहुलियत प्रदान गरेको हो व्यवसायीलाई मात्रै सहुलियत दिन खोजेको हैन,’ सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भन्नुभयो, ‘व्यवसायी साथीहरूले त्यही खालको करमा सहुलियत पाए अनुसार ग्राहकलाई गाडी नदिने परिस्थिति सृजना भएको देखिन्छ। इभीको कर बढाउने कुरामा व्यवसायीहरू नबोल्न आग्रह गर्छु।’

अर्थमन्त्री डा. महतले अटोमोबाइल्स क्षेत्र विस्तार हुँदै गएको बताउनुभयो। एसेम्बल कारखाना खुल्दै गएको र पार्ट्सलगायत अन्य सामाग्री बन्न सुरु भएको पनि उहाँले बताउनुभयो।

अर्थमन्त्री डा. महतले अहिले राजस्वमा धेरै घाटा रहेको र विद्युतीय सवारी साधनले पेट्रोलियम पदार्थको आयातलाई पनि घटाउँदै लगेको उल्लेख गर्नुभयो। विद्युतीय सवारीको लागत घट्दै गएकाले सहुलियत जनतालाई ट्रान्सफर हुनुपर्नेमा मन्त्रीले जोड दिनुभयो।

Share Now