सगरमाथा आधार शिविर(सोलुखोम्बु), ५ जेठ । शनिवार महिला फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सहित ३६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
फोटोपत्रकार पूर्णिमा सर्बोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छिन्।
यस ऋतुमा सगरमाथा आरोहण सुरु भएको एक साताभित्र अधिकांश आरोहीले सफल अरोहण गरेका छन्।
शनिबारसम्मको तथ्यांकलाई हेर्दा अब ८८ जना आरोही शिखरमा पुग्ने क्रममा छन्। वसन्त ऋतुमा आरोहण अनुमती लिएका ३६४ जना मध्ये (शनिबार)सम्म २७७ जना आरोही सगरमाथाको शिखरमा पुग्न सफल भएका छन्।
यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएयता हालसम्म २७७ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत तिलकराम पाण्डेले जानकारी दिए। ‘
शनिबार मात्रै ३६ जनाले आरोहण गरेका छन्,’ उनले भने, ‘जसमध्ये २१ नेपाली र १५ विदेशी छन्।’
नेपाल सकारकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार शुक्रबार ३४ नेपाली र ३१ विदेशीसहित ६५ जनाले सगरमाथा आरोहण गरेका थिए।
वैशाख ३० अर्थात मे १३ मा आठजना शेर्पा आरोहीबाट सगरमाथाको शिखरसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो।
महिला पत्रकारको समूह उकालो चढ्यो
सगरमाथा आरोहणका लागि पाँचजना महिला नेपाली पत्रकारको समूह शनिबार बिहान चुचुरो तर्फ प्रस्थान गरेको छ।
क्याम्प तीनअघि पुगेर सगरमाथा आधार शिविरमा फर्केर बसेका महिला पत्रकारको समूह आइतबार बिहान २ बजे शिखर चुम्नेगरि क्याम्प २ तर्फ प्रस्थान गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
यस यामको वसन्त ऋतुमा सात नेपाली महिला पत्रकारले विश्वको शिखर सगरमाथाको आरोहण गर्दैछन्। सात जना मध्ये पाँच जना एकै समूहमा रहेका छन्।
विभिन्न सञ्चार गृहमा रहेका उनीहरूले ‘समानताका लागि बुलन्द आवाज’ भन्ने नारा लिएर सगरमाथा आरोहण गर्दैछन्।
आरोहण समूहमा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति(, प्रियालक्ष्मी कार्की (न्यूज २४ टेलिभिजन(, कल्पना महर्जन (मेघा टेलिभिजन(, रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति( र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार( गरी पाँचजना महिला पत्रकार छन्।
आधार शिविरमा रहेकी रोशा बस्नेले आफूहरूको अभियान सफल हुनेमा ढुक्क रहेको बताईन्। यसअघि क्याम्प तीनसम्म पुग्दा कुनै समस्या नआएकाले अबको यात्रामा कुनै अवरोध सृजना नहुने हो भने आरोहण सफल गरेर फर्कने उनको भनाई छ।
पत्रकारले अरूको अनुभव सुनाउनेभन्दा पनि आफैँले अनुभव गरेर अरूलाई सुनाउने योजना रहेको अर्की आरोही कल्पना महर्जनले बताईन्।
यसअघि नै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाको नेत्तृत्वमा रहेको आरोही समूहले २०१८ मे २३, सम्ममा सगरमाथाको शिखरमा पाइला टेक्ने नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।
अहिले अधिकांश आरोही सगरमाथाको चुचुरोमा पुगेर धमाधम फर्कंदैछन् भने केही आरोही आरोहणको तयारीमा छन्। कतिपय आरोही आरोहण सकेर गन्तव्यतिर पुगिसकेका छन्।