खुमलटार (ललितपुर), २५ कात्तिक : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित विज्ञान कूटनीतिसम्बन्धी कार्यक्रममा धारणा राख्नुहुने वक्ताहरुले नेपालका प्रत्येक विश्वविद्यालयमा विज्ञान कूटनीतिसम्बन्धी पाठ्यक्रम आवश्यक छ भन्नेमा जोड दिनुभएको छ ।
शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा धारणा राख्नुहुँदै पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले विश्वमा युवा वैज्ञानिकको धेरै ठूलो भविष्य रहेको उल्लेख गर्दै विज्ञान र प्रविधिका क्षेत्रमा युवा पुस्तालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
“वर्तमान समयमा विज्ञान र प्रविधि विश्वव्यापीकरण भएको छ, संसारभर नेपाली वैज्ञानिकलाई अवसर छ, नेपाली वैज्ञानिक लेख्नमा प्रखर छन् । तर बोल्न र सूचना प्रवाहमा कमजोर छन्, यसतर्फ ध्यान दिनुपर्नेछ”, पूर्वमन्त्री साहले भन्नुभयो । उहाँले अबदेखि नास्टले आफ्नो पुस्तकालय र प्रविधि सेन्टरसँग अध्ययन–अनुसन्धानका लागि सर्वसाधारणलाई पनि जोड्नुपर्ने बताउनुभयो ।
“हामीकहाँ विज्ञान वैज्ञानिकका लागि मात्रै भयो, अब विज्ञान समुदाय र समाजका लागि हुनुपर्छ,” उहाँले भन्नुभयो । पूर्वमन्त्री साहले यस वर्षको विज्ञान दिवसको नाराले युवाहरूलाई सहभागी गराउने र भविष्यलाई जोड्दै जीवन कलासँग जोड्ने अभिप्राय राखेको छ भन्नुभयो ।
चीनका लागि नेपाली पूर्वराजदूत प्राध्यापक डा महेशकुमार मास्केले विज्ञान कूटनीतिमार्फत उपलव्धि हासिलका लागि सूचना प्रविधिको युगलाई अत्यधिक प्रयोग गर्नुपर्छ भन्नेमा जोड दिनुभयो । “यस वर्षको नारा हाम्रा राजनीतिज्ञहरुले पनि बुझ्न जरुरी छ, युवा वैज्ञानिकहरुलाई अध्ययन–अनुसन्धानमा प्रोत्साहित गर्नेतिर नास्टले ध्यान दिनुपर्छ, विश्वमा भएका घटनालाई हेर्दै आर्थिक सहकार्यका माध्यमबाट कसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर पनि हेर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।
पूर्वराजदूत मास्केले भारत र चीनसँग प्रविधिको उच्चतम प्रयोग र नवप्रवर्तनका सम्बन्धमा सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । “विज्ञान र प्रविधिको क्षेत्रमा छिमेकी देशमा के भइरहेको छ भन्ने पनि हामीले अद्यावधिक गर्नुपर्नेछ, विज्ञान कुट्नीति सफल बनाउनका लागि नास्टको त्रिवर्षीय कार्ययोजना बनाउनूस्, परराष्ट्र मन्त्रालयलाई पनि झक्झक्याउनूस्”, उहाँले भन्नुभयो ।
नास्टले अन्तर्राष्ट्रिय समन्वयलाई जोड दिँदै परियोजना ल्याउन, आर्थिक स्रोत वृद्धि गर्न, नवप्रवर्तनका क्षेत्रमा नयाँनयाँ अध्ययन–अनुसन्धान र खोजमा ध्यान दिनुपर्ने पूर्वराजदूत मास्केको भनाइ थियो ।
इन्स्टिच्यूट अफ कोअपरेसन डेभलपमेन्टका प्रमुख डा हरिप्रकाश चन्दले अमेरिकाले विज्ञान कूटनीतिलाई अझै बलियो बनाउने नीति लिएको छ भन्दै हामीले यसलाई बुझेर आफ्नो आवश्यकताअनुसार कूटनीतिको आधार तय गर्नुपर्छ भन्नुभयो ।
“कूटनीतिक ‘मिसन’ भएका देशहरुमा छुट्टै विज्ञान तथा प्रविधिसम्बन्धी विभाग हुनुपर्छ, सबै कूटनीतिको महत्वपूर्ण कूटनीति विज्ञान कुटनीति हो,” उहाँले भन्नुभयो ।
वैज्ञानिक डा हेमु काफ्ले वैज्ञानिकहरुले गरेको अध्ययन–अनुसन्धानलाई समाजका समस्या समाधान गर्न नीतिमा समावेश गरेर जाँदा विज्ञान कूटनीतिमा उपलब्धि हासिल गर्न सकिन्छ भन्नेमा जोड दिनुभयो । “विज्ञान क्षेत्रमा काम गर्न लागेको दुई दशक भयो, धेरै कुराहरु पत्ता लागेका छन्, अनुसन्धानबाट आएका कुरालाई नीतिनिर्माताले प्राथमिकता दिएर नीतिमा समावेश गराउन नसक्दा हाम्रो कामलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सकिएको छैन”, उहाँले भन्नुभयो ।
हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)ले तय गरेको शान्ति तथा विकासका लागि विश्व विज्ञान दिवस, २०२४ ‘विज्ञान किन महत्वपूर्ण छ–दिमागलाई संलग्न गर्न र भविष्यलाई सशक्त बनाउन’ नाराका साथ यस वर्षको विज्ञान दिवस मनाइएको छ ।