
काठमाडौँ, २६ फागुनः नेपालको शेयर बजार पछिल्लो छ दिनदेखि निरन्तर ओरालो लागेको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक आज पनि ओरालो देखिएको हो ।
आज धितोपत्र बजार परिसूचक २०.६८ अङ्कले ओरालो लागेर २७५१ .४२ को विन्दुमा कायम भएको छ । यस दिन ३ सय ११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९ सय १५ कित्ता शेयरको किनबेच हुँदा रु ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको अवस्था छ । सबैभन्दा धेरै ‘म्युचुअल फन्ड’ तीन दशमलव ०६, व्यापार एक दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव १५, जलविद्युत् एक दशमलव १६ र लगानी एक दशमलव ५१ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैङ्किङ शून्य दशमलव ४४, विकास बैङ्क शून्य दशमलव ७३, वित्त शून्य दशमलव ७०, होटल तथा पर्यटन शून्य दशमलव ९९, जीवन बिमा शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बिमा समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल ‘रिइन्स्योरेन्स कम्पनी लिमिटेड’को रु ७३ करोड ५० लाख ९० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ‘घलेम्दी हाइड्रो लिमिटेड’को ११ लाख ६३ हजार ८ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।