Prakash Adhikari March 28, 2025

काठमाडौं, १५ चैत्र । प्रहरीले शान्ति सुव्यवस्था कायम राख्ने भन्दै राष्ट्रिय पञ्चायतका अध्यक्ष बनिसक्नुभएका पुराना नेता नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उहाँ केही अघि राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुनुहुन्छ ।

प्रहरीले उहाँलाई गुह्वेश्वरी हाइटस्थित निवासमै नजरबन्द गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुन लावतीले जानकारी दिनुभएको छ । उहाँ आज तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पनि सहभागी हुनुभएको थियो ।

उपाध्यक्ष मिश्र र महासचिव राणा पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव डा.धवलसमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ ।

सुरक्षा स्रोतले दिएको जानकारी अनुसार उहाँहरुलाई ललितपुरको ग्वार्को पक्राउ गरिएको हो । बिरामी भेटन बी एण्ड बी अस्पताल पुग्नुभएका उहाँहरु दुवैलाई तपाईँहरुसंग केही बुझ्नु छ भन्दै प्रहरीले नियन्त्रणमा लिएर टेकु लगेको छ ।

उहाँहरुलाई आज गरिएको प्रदर्शन तथा सभाका क्रममा भएको आगजनी र तोडफोडका घट्नाका सम्बन्धमा बुझ्न पक्राउ गरिएको बुझिएको छ ।

राजतन्त्रको पुनःस्थापना र नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषित उद्देश्यसहित राप्रपाले जनआन्दोलनको घोषणा गरेको थियो ।

त्यसकै क्रममा राजधानीको तीन कुनेमा आज प्रदर्शन र सभा राखिएको थियो ।

यो आन्दोलनको कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तोकिएको छ र राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिंको संयोजकको जिम्मा राष्ट्रिय पञ्चायतका अध्यक्ष भैसक्नुभएका राजावादी पुराना नेता नवराज सुवेदीले लिनुभएको छ । उहाँले आन्दोलनकारीलाई भड्काउने काम सुरक्षाकर्मीबाट भएकोले आन्दोलनका क्रममा भएको धनजनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने तर्क दिंदै आउनुभएको छ ।

आन्दोलनको क्रममा आज भएको प्रदर्शन,आगजनी र भिड नियन्त्रणका क्रममा चलेको गोली लागेर दुई जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणा गरेको जनआन्दोलनको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिड.देन स्वयंले लिनुभएको छ । पार्टीका महामन्त्री डा. राणा राष्ट्रिय परिचालन समितिको संयोजक हुनुहुन्छ ।

स्वागत नेपालसहित थप  पक्राउ

प्रहरीले पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपालसहित थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ हुनुहुन्छ ।

उहाँहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले यस घट्ना पछि साँझसम्म १७ जनालाई पक्राउ गरेको बुझिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र सुवेदीको नेतृत्वको संयुक्त जनआन्दोलन समितिं र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहभागितामा भएको आजको प्रदर्शनमा दुई जनाको ज्यान गएको छ ।

 

हिंसात्मक क्रियाकलापमा राप्रपा संलग्न नभएको अध्यक्षको दावी

यसै बीच राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता नभएको दाबी गर्नुभएको छ ।

उहाँले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै आफ्नो पार्टीका कार्यकर्ताहरु शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकोले घट्नाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सावर्जजनिक गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले प्रदर्शनकारीको मागलाई वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गर्दै भन्नुभएको छ,ुसबै प्रकारका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सरकारलाई पनि संयमता अपनाउन र प्रदर्शनकारीको मागलाई राजनीतिक रुपमै सम्बोधन गर्न सरकारसँग माग गर्छु, दमनबाट होइन । वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गर्छु

Share Now