Prakash Adhikari March 29, 2025

भैरहवा (रूपन्देही), १५ चैतः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भैरहवामा भिड्दै छन् ।

फाइनल खेलको पूर्वसंध्यामा हिजो भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कपको फाइनल खेलका लागि आफ्नो टिम सम्पूर्ण रुपले तयार रहेको भन्दै खेल सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने बताए । भण्डारीले मुलुकभित्र क्रिकेट खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता देशभरि आयोजना गर्नुपर्ने बताए । उनले प्रतियोगिताका सम्पूर्ण खेलहरू पहिलो पटक उपत्यका बाहिर खेल्न पाउनु अभूतपूर्व अनुभव रहेको टिप्पणी गरे ।

उपत्यका बाहिर पनि स्तरीय खेल मैदानहरू निर्माण भइसहेकाले अब काठमाडौँमा केन्द्रित हुन आवश्यक नभएको कप्तानद्वयको भनाइ छ । सबै स्थानमा खेल मैदान भएकाले यसले क्रिकेटको विकासमा टेवा पु¥याउने भन्दै उपत्यका बाहिर यो वर्षदेखि खेल खेलाएर क्रिकेटमा विकेन्द्रीकरणको सुरुवात भएको नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले बताए ।

प्रधानमन्त्री कप क्रिकेटमा राष्ट्रिय टोलीका खेलाडीभन्दा प्रदेशस्तरीय खेलाडीले उल्लेख्य प्रदर्शन गरेका छन् । कप्तानद्वयले विभागीय खेलाडीको प्रदर्शनभन्दा उदियमान खेलाडीको प्रदर्शन उच्च भएको बताउँदै प्रधानमन्त्री कपको उद्देश्य लुकेका प्रतिभालाई सबैको सामु ल्याउनु रहेको उल्लेख गरे ।

जारी प्रतियोगितामा नौ खेल खेलेको नेपाल पुलिस आठमा जितसहित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने नौ खेल खेलेको आर्मी पनि आठमा जित निकाल्दै दोस्रो स्थानसहित फाइनल पुगेको छ । लिग चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई चार विकेटले हराएको थियो ।

विसं २०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै । गत वर्षको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यसपटक जित निकाल्ने योजनामा छ भने राम्रो गतिमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने योजनामा छ । फाइनलमा पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ ।

पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा भएका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट मैदान खेल भएका छन् । कूल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भैसकेका छन् भने उपाधिका लागि आज अन्तिम प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको अन्तिम तथा फाइनल खेल भैरहवास्थित सिद्धार्थ रङ्गशालामा बिहान ९ बजेदेखि हुँदैछ ।

Share Now