Prakash Adhikari March 29, 2025

 

चेन्नई( भारत), १६ चैत्र (एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) मा शुक्रवार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

चेपकमा बेंगलुरुले चेन्नईलाई १७ वर्ष पछि ५० रनले हराएको हो । सन् २००८ को पहिलो संस्करणमा बेंगलुरुले चेन्नईलाई हराएको थियो । त्यसछिको यो नै पहिलो जित हो ।

१ सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि ओपनर रचिन रविन्द्रले ३१ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४१ रन जोडे । रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रनमा आउट भए ।

शिभम दुबे १५ बलमा १९ रन बनाए । महेन्द्रसिंह धोनी १६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रनमा अविजित रहे ।

चेन्नईलाई सस्तैमा रोक्न बेंगलुरुका लागि जोस हेजलवुडले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । यश दयाल र लियम लिभिङ्स्टोनले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

त्यसअघि चेन्नइको एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।

बेंगलुरुको लागि कप्तान रजत पाटिदारले ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे ।

बेंगलुरुको कप्तानको रुपमा पाटिदारले पहिलो अर्धशतक ३० बलमा पूरा गरे । ओपनर फिल साल्टले १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे ।

विराट कोहली ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट गरे । देवदत्त पटीकल १४ बलमा २७, जितेश शर्मा ६ बलमा १२ तथा लियम लिभिङ्स्टोन ९ बलमा १० रन जोडे ।

कोलकाता नाइटराइडर्ससँगको अघिल्लो खेलमा प्लेयर अफ द म्याच बनेका कुर्नाण पाण्ड्या खाता नखोल्दै आउट भए । टिम डेबिड ६ बलमा २२ रन बनाउँदै अविजित रहे ।

चेन्नईका लागि नुर अहमदले ३, मथिशा पथिरानाले २ तथा खलिल अहमद र रविचन्द्रन आश्विनले समान १ । १ विकेट लिए ।

बेंगलुरु २ खेलमा अपराजित रहँदै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेको थियो ।

दोस्रो खेलमा पहिलो हार बेहोरेको चेन्नईको २ खेलमा २ अंक छ । पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।

Share Now