Prakash Adhikari July 29, 2018

जकार्ता(इण्डोनेसिया),१३ साउन (बीबीसी)।  इण्डोनेशियाको एउटा लोकप्रिय पर्यटकीय गन्तव्यमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

आइतवार स्थानीय समयअनुसार बिहान ७ बजेभन्दा केही बेरअघि लोम्बोक टापुमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको हो।

पर्यटकीय टापु बालीभन्दा करिब ४० किलोमिटर पूर्वमा रहेको उक्त टापु पदयात्रा र समुन्द्री तटका कारण विश्वभरका पर्यटकको निम्ति आकर्षणको एउटा गन्तव्य मानिन्छ।

परकम्प
अधिकारीहरूका अनुसार हजारौं घरहरुमा क्षति पुगेको छ भने १६० जनाभन्दा बढी मानिस घाइते भएका छन्।

ज्यान गुमाउनेहरूमा माउण्ट रिञ्जानीमा पदयात्रा गर्न गएका एकजना मलेसियाली पर्यटक पनि रहेका छन्।

भूकम्पको केन्द्रविन्दु उत्तरी लोम्बोकस्थित मताराम शहरभन्दा ५० किलोमिटर उत्तर-पूर्वतर्फ रहेको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्र (युएसजीएस) ले बताएको छ।

उक्त भूकम्पपछि सबैभन्दा ठूलो ५.७ म्यानिच्युड सहितको ६० भन्दा धेरै परकम्पहरू गएका छन्।

भूक्षय
इण्डोनेशियाको विपद्सम्बन्धी निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोका अनुसार अधिकारीहरुले मुख्य ध्यान उद्धार तथा प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्नेमा केन्द्रित छ। र, केही घाइतेहरुको अझै क्लिनिकहरूमा उपचार भइरहेको छ।

उनले समाजिक सञ्जालमा भूकम्पका कारण ढलेका घरहरु र भग्नावशेषले पुरिएका सडकहरूको ‍तस्विरहरू पनि राखेका छन्।

क्षतिग्रस्त घर
परराष्ट्र मन्त्रालयअन्तर्गतको नागरिक सुरक्षासम्बन्धी निर्देशनालयका लालु मोहम्मद इकबालले बीबीसी इण्डोनेशीयाली सेवालाई भने, “निकै शक्तिशाली भूकम्प महसुस गरियो, पर्यटकहरू होटलबाट बाहिर निस्किएका छन् र निकै अत्तालिएका र डराएका छन्।”

पदयात्रीहरूको लागि चर्चित एउटा गन्तव्य- माउण्ट रिञ्जानी राष्ट्रिय निकुञ्ज भूक्षयका कारण बन्द गरिएको छ।

इण्डोनेशियामा ‘रिङ अफ फायर’ अर्थात् बारम्बार भूकम्प जाने र ज्वालामुखी विस्फोट हुने रेखामा पर्दछ जसकारण त्यहाँ बारम्बार भूकम्प गइरहन्छ।

सन् २०१६ मा सुमात्रा टापुको उत्तर-पूर्वी तटमा गएको ६.५ म्याग्निच्युडको भूकम्पका कारण कैयौं मानिसले ज्यान गुमाएका थिए भने ४० हजारभन्दा बढी विस्थापित भएका थिए।

Share Now

Leave a comment.