Prakash Adhikari June 28, 2025

-अशोक दाहाल । बीबीसी न्यूज नेपाली

काठमाडौं, १४ आषाढ । नेपालको पहिलो महिला राष्ट्रपति बनेर इतिहास बनाउनुभएकी विद्यादेवी भण्डारीले आफू पुनः सक्रिय पार्टी राजनीतिमा फर्कने घोषणा गर्नुभएको छ।

आफ्ना दिवङ्गत श्रीमान् तथा नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीको जन्म जयन्तीको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा भण्डारीले आफू राष्ट्रप्रमुख हुनुअघि सक्रिय रहेको नेपाल कम्युनिष्ट पार्टी एमाले मार्फत नै राजनीतिमा फर्कने घोषणा गर्नुभएको हो ।

“नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यसाथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु। म अब एमाले परिवारका रूपमा जोडिएको छु”, भण्डारीले भन्नुभयो।

विसं २०७२ साल कार्तिक १८ गते पहिलोपटक राष्ट्रपति बन्नुअघि भण्डारी नेकपा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो।

नयाँ संविधानको व्यवस्था अनुसार दुई वर्ष मात्रै पहिलो कार्यकाल राष्ट्रपति बनेकी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पनि नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो।

दुईपटक गरी सात वर्ष राष्ट्रपति बनेकी भण्डारीको अन्तिम कार्यकाल सन् २०२३ को मार्चमा सकिएको थियो।

यसअघि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि नेकपा माओवादीको राजनीतिमा फर्किनुभएको थियो। पार्टी राजनीतिमा फर्कने उहाँको निर्णयको कैयौँले आलोचना गरेका थिए।

राजनीतिमा फर्कनुको कारण

“देश र जनताको हित गर्ने उद्देश्यले मात्रै आफू एमालेको राजनीतिमा फर्कन लागेको” भण्डारीले दाबी गर्नुभएको छ।

“राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन” भन्ने आफ्ना दिवङ्गत पतिको भनाई उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिए लगत्तैबाट सञ्चार जगत् र पार्टी कार्यकर्ताबाट पनि आफ्नोबारे चासो राखिरहेकोबारे आफू जानकार रहेको बताउनुभयो।

“सामाजिक सञ्जालमा पनि आफ्नोबारे भएका चर्चाबारे मैले गम्भीर रूपमा चिन्तन मनन गरेको छु र म एउटा निष्कर्षमा पुगेको छु”, भण्डारीले भन्नुभयो ।

एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नु अघि भण्डारीले कार्यक्रममा आफ्नो राजनीतिक विगतबारे लामो चर्चा गर्नुभएको थियो ।

“नेकपा एमालेको उपाध्यक्ष सम्हालिरहेकै समयमा पार्टीले मलाई राष्ट्रपतिको उम्मेदवार बनायो र म राष्ट्रपति बनेँ “, उहाँले भन्नुभयो ।

“आफूले राष्ट्रपति भएर देशको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको” उहाँले बताउनुभयो । पार्टीको विश्वासकै कारणले गर्दा आफूले राष्ट्रपति बन्ने मौका पाएको भन्दै उहाँले एमाले नेतृत्वलाई धन्यवाद समेत दिनुभयो ।

“आफ्नो मातृभूमि र जनताको सेवा गर्ने दायित्व”बाट बाहिर आएको दुई वर्षबीचमा आफूले देशका विभिन्न ठाउँमा पुगेर जनता र विज्ञसँग अन्तरक्रिया गरेको उहाँले बताउनुभयो ।

“मेरो यस किसिमको छलफलका आधारमा निस्किएको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो”, उहाँले भन्नुभयो ।

ओलीलाई टक्कर दिने आशङ्का

एमालेको राजनीतिमा भण्डारीको पुनरागमनलाई पार्टीभित्रै आशङ्काको दृष्टिले हेरिएको देखिएको छ।

आगामी दुई वर्षभित्र गरीसक्नुपर्ने एमालेको महाधिवेशनमा ‘भण्डारीले अहिलेका अध्यक्ष केपी ओलीलाई चुनौती दिने’ पनि कतिपयको आकलन पाइन्छ।

लामो समय पार्टी राजनीतिमा ओलीनिकट मानिने भण्डारीको पछिल्लो समय ओलीसँग दूरी बढेको भन्ने विवरणहरू सार्वजनिक भएका थिए।

उहाँले गतसाता प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसँग बालुवाटारमा भेट गरेर आफू पार्टी राजनीतिमा आउन चाहेको जानकारी गराएका विवरण यसअघि सञ्चार माध्यममा आएका थिए।

यसैसाता बसेको एमाले सचिवालय बैठकमा भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्कने विषयमा छलफल समेत भएको बताइएको छ।

एमाले अध्यक्ष ओलीले भने भण्डारीको राजनीतिक पुनरागमनबारे भइरहेका आशङ्काको खण्डन गर्नुभएको थियो।

भण्डारीअघि कार्यक्रममा बोल्दै ओलीले सञ्चारमाध्यमहरूमा त्यसबारे भ्रामक सूचना फैलाइएको आरोप लगाउनुभयो।

“यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, यहीँबाट एमाले ध्वस्त हुन सुरु हुन्छ, यही सपना देखेर बसेका छन्”, ओलीले भन्नुभयो।

“त्यो सपना नदेखे हुन्छ हामी एकजुट रहन्छौँ पार्टी एकजुट रहन्छ”, ओलीले भन्नुभयो।

भण्डारीको राजनीतिक उदय

राष्ट्रपति बन्नुअघि भण्डारीले रक्षामन्त्री र वातावरण तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो।

पति मदन भण्डारीको २०५० साल जेठ ३ गते सडक दुर्घटनामा निधन भएपछिको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदै सांसद निर्वाचित भएपछि भण्डारीको राष्ट्रिय राजनीतिमा बलियो उदय भएको थियो।

विसं २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा जन्मिनुभएकी भण्डारीले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको यूथ लिगको कार्यकर्ताको रूपमा सङ्गठित राजनीतिक यात्रा थाल्नुभएको थियो।

गाउँको एउटा सामान्य किसान परिवारमा जन्मिएकी भण्डारी भोजपुरमा अध्ययनरत रहँदाबाटै राजनीतिमा आबद्ध हुनुभएको थियो।

दाम्पत्य जीवनको एघार वर्षमै पति गुमाउनुभएकी भण्डारीले आफ्ना दिवङ्गत पतिले अघि सारेका ‘जनताको बहुदलीय जनवाद’को पैरवी गर्दै आउनुभएको छ।

उनीहरूका जेठी छोरी उषाकिरण मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष हुनुहुन्छ भने कान्छी छोरी डा निशा कुसुम स्वास्थ्य अनुसन्धानका क्षेत्रमा क्रियाशिल । उहाँको विवाह पहिलो राष्ट्रपति डा रामवरण यादवका नातिसँग भएको छ।

Share Now