काबुल(अफगानिस्तान), १६ भाद्र । पूर्वी अफगानिस्तानमा जमिनको सतहबाट ८ किलोमिटरको गहिराइमा इपिसेन्टर भएर गएको ६.० म्याग्निट्यूडको भूकम्पका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आशङ्का गरिएको छ।
स्थानीय समयानुहार आइतवार राति ११ः४७ बजे गएको भूकम्पको केन्द्रबिन्दु देशको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर पर रहेको बताइएको छ।
अधिकारीहरूले बीबीसीलाई बताएअनुसार नाङ्गर्हार र कुनार प्रान्तमा कम्तीमा २० जनाको मृत्यु भएको थाहा भएको र १०० भन्दा बढी घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।
तालिबान सरकारका कैयौँ स्रोतहरूले दर्जनौँ घरहरू ूभग्नावशेषमा परिणतू भएको बताएका छन्। मारिएकाहरूको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ।
बीबीसी अफगान सेवाका अनुसार निकै प्रभावित कुनार प्रान्तका कैयौँ स्रोतहरूले त्यहाँ ूसयौँ मानिसको मृत्यु भएकोू र कैयौँ घाइते भएको बताएका छन्।
तालिबान अधिकारीहरूले दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।
त्यहाँ कतिपय क्षेत्रहरू पहिरो र बाढीका कारण हवाई पहुँचमा मात्र छन्।
घाइतेहरूको उपचार र सहायताका लागि चिकित्सकहरू बोकेका कम्तीमा चारवटा हेलिकप्टरहरू कुनार प्रान्त पुगेको स्रोतहरूले बताएका छन्।
यसैबीच नाङ्गर्हार प्रान्तमा दर्जनौँको सङ्ख्यामा स्वयंसेवकहरू रक्तदान गर्न अस्पतालहरूमा पुगेका छन्।
भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरू हल्लाएको बताइएको छ। उक्त स्थान झन्डै ३०० किलोमिटर टाढा अवस्थित छ।
धेरैजसो भूकम्पको क्षति कुनार प्रान्तमा भएको ठानिएको छ जसको झन्डै ९० प्रतिशत भूभाग पहाडी छ।
सन् २०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखा परेका थियो। त्यस बेला झन्डै १,००० जनाको मृत्यु भएको थियो। पहिरोका कारण दुर्गम गाउँहरूमा खोज र उद्धार प्रयासहरू अवरुद्ध भएपछि हवाई मार्ग प्रयोग गर्नुपरेको थियो।
इन्डिअन र यूरेशिअन टेक्टोनिक प्लेटहरू जोडिने कैयौँ ुफल्ट लाइनहरूुको माथि अवस्थित रहेकाले अफगानिस्तान भूकम्पका दृष्टिले निकै जोखिममा रहेको क्षेत्र मानिन्छ।


















