Prakash Adhikari September 1, 2025

कर्सी(उज्वेकिस्तान), १६ भाद्र। उज्वेकिस्तानको कर्सी सहरमा भैरहेको एएफसी वुमेन्स क्लब च्याम्पियनसीपमा भाग लिइरहेको नेपालको एपीएफ क्लब साउदी अरबको अल–नासार क्लबसंग पराजित हुँदै आफ्नो यात्रा टुंग्याएको छ ।

आइतबार भएको खेलमा अल नासरले नेपाली विभागीय टोली एपीएफलाई ६–१ ले हराउएको थियो ।

यो नतिजासँगै अल–नासार समूह ‘बी’ मा ३ अंकसहित तेस्रो स्थानमा रह्यो भने एपीएफ अंकविहीन रहँदै चौथो स्थानमा सीमित भयो। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका थिए।

खेलको चौथो मिनेटमै अल–नासारले अग्रता लियो। एपीएफकी अनिता बस्नेतको कार्नरलाई गोलकिपर मोना अलोवाइसले लाइनबाटै बचाउँदै तुरुन्तै लामो पासमार्फत काउन्टर अट्याक सुरु गरिन्। बल शोखन सालिहीमार्फत क्लारा लुभाङ्गासम्म पुग्यो र उनले सहजै गोल गरिन्।

लुभाङ्गाले त्यसपछि पनि लगातार दबाब बनाइन्। तर, एपीएफकी गोलकिपर अञ्जिला सुब्बाले उनका दुई प्रहार रोकिन्। ४१औं मिनेटमा भने अल– नासारले दोस्रो गोल जोड्यो।

काथेलेनको क्रस एपीएफको डिफेन्सलाई छलेर मारिया दा सिल्भाले नजिकैबाट प्रहार गर्दै गोल गरिन्। दोस्रो हाफमा एपीएफले प्रदर्शन सुधार्यो र ५०औं मिनेटमा गोल फर्कायो।

अलोवाइस पोस्ट छाडेर अगाडि निस्किँदा सविता रानामगरले मिडफिल्ड नजिकैबाट प्रहार गरी सानदार गोल गरिन्। तर, ६२औं मिनेटमा अल–नासारले अग्रता पुनः फराकिलो बनायो।

दायाँपट्टिबाट दौडिएकी रुथ किपोईको क्रसलाई लुभाङ्गाले टाढाको पोस्टबाट फिनिसिङ गर्दै स्कोर ३–१ बनाइन्। ७०औं मिनेटमा दा सिल्भाले बाँया भागबाट फ्री–किकमार्फत चौथो गोल गरिन्।

त्यसपछि ८०औं मिनेटमा उनले टाढाबाट स्वर्भिङ सुन्दर गोल गर्दै व्यक्तिगत पाँचौं गोल थपिन्। ८६औं मिनेटमा सालिहीले अफसाइड ट्याप गर्दै अञ्जिलालाई ड्रिबल गरेर टोलीलाई ६–१ को सानदार जित दिलाइन्।

Share Now