Prakash Adhikari September 15, 2025

कोलम्बो(श्रीलंका), ३० भाद्र । साफ यु १७ च्याम्पियनसिपको दसौं संस्करणमा आज नेपाली टोली आयोजक श्रींलंकाको टिमसंग भिड्दै छ ।

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता छ।

नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।

यसअघिको ९ संस्करणमा भारतले ६, बंगलादेशले २ र पाकिस्तानले एक पटक उपाधि जितेको छन्। सन् २०११ बाट सुरु भएको च्याम्पियन्स कहिले यु १५ र कहिले यु १६ का रुपमा पनि‌ आयोजना भएको छ। योसहित ३ संस्करण लगातार यु १७ को नाममा आयोजना भएको छ।

गत वर्ष बंगलादेशलाई २-० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो। यसपटक असोज ११ (सेप्टेम्बर २७) सम्म चल्ने प्रतियोगिताको सबै खेल कोलम्बोको रेसकोर्स ग्राउण्डमा हुनेछ । ४ पटक फाइनल खेलेको नेपालले अहिले सम्म उपाधि जित्न सकेको छैन।

Share Now