Prakash Adhikari November 10, 2025
  • एलेक्स फिलिप्स
    हेलन बुश्बाई

काठमाडौं, २४ कार्तिक । बीबीसीको एक प्रसिद्ध कार्यक्रम प्यानोरमा अन्तर्गत प्रशारित एक वृत्तचित्रमा समावेश गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्पादित भाषणले दर्शकहरूलाई भ्रमित पारेको भन्दै आलोचना भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिनुभएको छ ।

यो सार्वजनिक प्रसारण संस्थाले विभिन्न विवाद र पूर्वाग्रहका आरोपहरू खेप्नुपरेपछि डेभी दबावमा हुनुहुन्थ्यो। उहाँ पाँच वर्षदेखि उक्त पदमा हुनुहुन्थ्यो।

बाहिर चुहिएको बीबीसीको एक आन्तरिक परिपत्रको विस्तृत विवरण द टेलिग्राफ पत्रिकाले सोमवार प्रकाशित गरेको थियो। त्यसमा प्यानोरमा कार्यक्रमले ुअमेरिकी राष्ट्रपतिको भाषणका दुई भागमा भएको सम्पादनले उहाँले ज्यानुअरी २०२१ मा क्यापिटल हिलमा भएको दङ्गा गर्न उक्साएको जस्तो देखाएकोु उल्लेख छ।

यूकेका नेताहरूले डेभी र टर्नेसका राजीनामाले परिवर्तन हुने आशा व्यक्त गर्नुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उक्त निर्णयको स्वागत गर्नुभएको छ।

बीबीसीका कार्यकारी निर्देशक र समाचार प्रमुखले एकैदिन राजीनामा दिनु अभूतपूर्व घटना हो।

Share Now