ढाका(बंगलादेश), २७ कार्तिक । नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।
खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। यसपटक जितेर नेपाली टोली आत्मविश्वास फिर्ता ल्याउने तयारीमा छ।
नेपालले गत मार्चमा सिंगापुरलाई १(० ले हराएपछि ४ खेलमा हार र २ खेलमा बराबरी नतिजा निकालेको छ। नेपाल भियतनामसँग २ पटक तथा मलेसिया र लाओससँग समान १ पटक पराजित भएको छ। बंगलादेश र हङकङसँगको मैत्रीपूर्ण खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो।
त्यसैले पनि नेपाल जितको दबाबमा रहनेछ। पछिल्लो ६ खेलमा नेपालले मात्र ३ गोल गरेको छ।यसले नेपालको प्रदर्शनमा सुधारको संकेत गर्दछ ।
अनि यो पटक नेपाली प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको छ। प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि जिम्मेवारी खड्कालाई दिइएको हो। उनले टोलीसँग तयारीका लागि निकै छोटो समय पाएका छन्। तर पनि उत्कृष्ट नतिजाको लागि खेल्ने बताएका छन् ।
पछिल्लो मैत्रिपूर्ण खेलमा बंगलादेशका प्रमुख खेलाडी हम्जा चौधरी टिममा थिएनन्। यो पटक भने उनी टोलीमा छन्। यस विषयमा सोधिएको प्रश्नमा प्रशिक्षक खड्काले फुटबल टिम गेम हो। हम्जाको उपस्थितिले नआत्तिएको र सोही अनुरुप खेल्न टिम तयार रहेको प्रतिक्रिया दिए।
कप्तान किरण चेम्जोङले पनि टोली तयार रहेको भन्दै बंगलादेशसँगको खेल एएफसी एसियन कप छनोटमा मलेसिया विरुद्धको खेलको लागि तयारीको रुपमा रहेको बताए।
किरणसहित बंगलादेशमा अन्य नेपाली खेलाडीले व्यवसायिक फुटबल खेलिरहेका छन्। जसले गर्दा नेपाललाई केहि सहज हुन सक्छ।
तर यो पटक नेपाली टोली केहि फरक अनुभव सहित बंगलादेश पुगेका छन्। राष्ट्रिय टोलीका केहि सदस्य ए डिभिजन लिगको माग सहित सडकको धर्ना प्रदर्शनमा सामेल थिए। त्यसका बाबजुद उत्कृष्ट खेल खेलेर देशको लागि अझ बढी मिहिनेतका साथ खेल्ने टोली बिदाइमा अनन्त तामाङले बताएका थिए।
नेपालले बंलादेशसँग गत भदौमा नेपालमा मैत्रिपूर्ण खेल खेलेको थियो। सो खेल गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो खेल भने जेनजी प्रदर्शनको कारण हुन सकेन।


















