- टम मकार्थर
बीबीसी न्यूज
नयाँदिल्ली(भारत), २७ कार्तिक । भारतको सरकारले राजधानी दिल्लीमा सोमवार साँझ भएको विस्फोट आतङ्कवादी घटना भएको बताएको छ।
लाल किल्ला नजिकै आठ जनाको ज्यान लिएको एउटा कार विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। घटनामा २० जना घाइते भएका थिए।
बुधवार अबेर सकिएको सुरक्षा बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्नुभएको छ। उहाँले त्यसलाई देश विरोधी शक्तिको कायरतापूर्ण कदम भन्नुभएको छ।
विस्फोटको घटनामा संलग्नहरूको नाम हालसम्म अधिकारीहरूले लिएका छैनन् र कोही पनि व्यक्ति पक्राउ समेत परेका छैनन्।
बुधवार मन्त्रिपरिषद्ले पारित गरेको सङ्कल्प प्रस्तावमा भनिएको छ, “कार विस्फोटमार्फत् देश राष्ट्र विरोधी शक्तिहरूद्वारा रचिएको जघन्य आतङ्कवादी घटनाको साक्षी बनेको छ।”
“घटनाको अनुसन्धानलाई अत्यन्तै जरुरी र व्यावसायिकताका साथ अघि बढाउन यो मन्त्रिपरिषद् निर्देशन दिन्छ। जस कारण अपराधीहरू, तिनका सहयोगी र लगानीकर्ताहरूको पहिचान गरी छिटोभन्दा छिटो न्यायको कठघरामा ल्याउन सकियोस्”, विज्ञप्तिमा भनिएको छ।
निर्दोष मानिसहरूको ज्यान जाने गरी भएको घटना घृणित र कायर कार्य भन्दै भारत सरकारले निन्दा गरेको छ। विज्ञप्तिमा भारत आतङ्कवादप्रति शून्य सहनशीलको नीतिप्रति दृढ प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ।
दिल्लीका सबैभन्दा चर्चित ऐतिहासिक तथा पर्यटकीय स्थलहरू मध्येको लाल किल्ला अगाडि रहेको मेट्रो स्टेसन नजिकै सोमवार साँझ ६ः५२ बजे रातो बत्तीमा रोकिएको कार विस्फोट भएको थियो।
प्रहरीका एक जना प्रवक्ताले ह्यून्डाई कम्पनीको आई २० मोडलको उक्त कारमा त्यस बेला तीन जना सवार रहेको बीबीसीसँग बताएका छन्।
प्रहरीका फरेन्सिक विज्ञ र सुरक्षा टोलीले उक्त घटनाको अनुसन्धान सुरु गरेका थिए।
सहयोग गर्ने अमेरिकी प्रस्ताव
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले दिल्लीको घातक विस्फोटको अनुसन्धानका लागि भारतलाई सहयोग गर्ने प्रस्ताव वाशिङ्टनले गरेको बताउनुभएको छ।
क्यानडामा जारी जी ७ शक्ति राष्ट्रहरूको बैठकका क्रममा भारतीय विदेशमन्त्री एस जयशङकरलाई आफूले त्यस्तो प्रस्ताव गरेको उहाँले बताउनुभयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विस्फोटमा ज्यान गुमाएका मानिसहरूका परिवारलाई समवेदना सन्देश पठाउनुभएको छ। विपक्षी नेता राहुल गान्धीले उक्त घटना ‘अति नै हृदयविदारक’ रहेको बताउनुभएको छ।
दैनिक हजारौँ आन्तरिक र विदेशी पर्यटकहरू घुम्न पुग्ने दिल्लीको ऐतिहासिक र पुरातात्त्विक महत्त्व भएको लाल किल्लामा भएको विस्फोटपछि भारतमा भिडभाड हुने अन्य स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्।
मुगल साम्राज्यका समयमा बनेको लाल किल्ला ३ सय ५० वर्षभन्दा पुरानो हो। यसको वरिपरिको क्षेत्र निकै व्यस्त रहन्छ। भारतको स्वतन्त्रता दिवसका दिन देशका प्रधानमन्त्रीले यो ठाउँबाट सम्बोधन गर्ने परम्परा रहँदै आएको छ।


















