कोलम्बो(श्रीलंका),१० भदौ । एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ।
आइतबार भएको तेस्रो तथा अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले हराएको थियो । यस अगाडि भएका दुई खेलमा पनि नेपालले फराकिलो अन्तरले जित हात पारेको थियो ।
आइतबारको अन्तिम अभ्यास खेलमा कोल्टस् क्रिकेट क्लबले दिएको २१७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै ४२.४ ओभरमा पुरा गरेको थियो।
नेपालका लागि कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारी खेले। खड्काले ५७ बलमा ५८ रन बनाउँदा ऐरीले ५३ बल खेल्दै ५२ रन बनाए।
खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । आरिफ शेख २३ रनमा नटआउट रहे भने सुबास खकुरेलले २२ रन बनाए।
सागर पुनले ५ रन बनाउँदा बिनोद भण्डारी १ रनमा आउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्टस् क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी छँदै सबै विकेट गुमाउँदै २१६ रन बनाएको थियो। उसका लागि हसनले सर्वाधिक ५९ रन बनाए। ६७ बल खेलेका हसनले अर्धसतकीय पारी खेले।
यस्तै आयनाले ३६ तथा विश्वले २६ रन बनाएका थिए।
नेपालका लागि सोमपाल कामीले ३ तथा करन केसी सागर पुनले २-२ विकेट लिए भने ललित राजबंशीले १ विकेट लिए।
३ वटा अभ्यास खेल्न श्रीलंका गएको नेपाली टोलीले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। यस्तै शुक्रवार सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले ब्लुमफिल्ड क्लबलाई १७६ रन ( डीएलएस मेथड ) को बिशाल अन्तरले पराजित गरेको थियो।
कोल्ट्स श्रीलंकाको कोलम्बोमा रहेको फर्स्ट क्लास श्रेणी क्रिकेट खेल्ने टोली हो। कोल्ट्सले श्रीलंकामा आयोजना हुने प्रथम श्रेणी क्रिकेटको ६ पटक उपाधि जितेको छ।
दिल्रुवन परेरा, सदिरा समराविक्रमा, कुसल परेरा, अकिला धनन्जय जस्ता अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडीहरुले कोल्ट्सको टोलीबाट खेलिसकेका छन्। श्रीलंकाका पुर्व कीर्तिमानी बलर चमिन्दा भासले कोल्ट्सबाट आफ्नो घरेलु क्रिकेट खेलेका थिए।
नेपाली टिम भोलि मलेसिया प्रस्थान गर्नेछ। एसिया कप छनोट अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग भदौ १३ गते खेल्नेछ। हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ मंगलबार मलेसिया पुग्नेछन्।
एसिया कप छनौटमा नेपाली टिम :- पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल
अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।
एसिया कपमा नेपालको खेल तालिका :- २९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपालसँग युएई ( किनरारा ओभल मैदान ) , १ सेप्टेम्बर – नेपालसँग मलेसिया ( बायुमास ओभल मैदान ) , २ सेप्टेम्बर – नेपालसँग सिंगापुर ( युकेएम ओभल मैदान ) , ४ सेप्टेम्बर – नेपालसँग हंगकंग ( युकेएम ओभल मैदान ) , ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )