Prakash Adhikari December 17, 2025

 

काठमाडौं, २ पौष । दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज नेपालको एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगाल फुटबल क्लबबीच खेल हुँदैछ ।

फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने लिग चरणको अन्तिम खेल फाइनल अघिको तयारीको रुपमा रहनेछ । दुवै टोलीले लिग चरणको आजको अन्तिम खेलअघि नै एपीएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरिसकेका हुन्।

एपीएफले खेलेका ३ मध्ये २ मा जित र १ मा बराबरी गर्दै ७ अंक जोडेको छ। अर्कोतर्फ इस्ट बंगालले सबै ३ खेल जित्दै ९ अंक जोडेको छ। यी दुई टोलीबीचको खेल साझ ६ बजे सुरु हुनेछ।

एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीले ४(० ले हराउँदै सहज जित निकाले पनि त्यसपछि गोलको लागि संघर्ष गरेको थियो।

दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १(० ले हराएको थियो।

अर्कोतर्फ इस्ट बंगालले ट्रान्सपोर्टलाई ४(०, कराँचीलाई २(० र नासिरलाई ७(० ले हराएको थियो।

दुबै टोली अहिलेसम्म गोल खाएका छैनन् । तर एपीएफले ५ गोल मात्रै गर्न सकेको छ। इस्ट बंगालले १३ गोल गरिसकेको छ।

एपीएफले उपाधि जित्नका लागि बलियो टोली इस्ट बंगाललाई हराउनुको विकल्प छैन। कराँची पनि बाहिरिसकेको छ।

आज दिउँसो २ बजे पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्रान्सपोर्ट र नासिर बीच हुनेछ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता छ । सिंगल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।

Share Now