यसअघिका दुईवटा महाधिवेशनमा पनि अध्यक्षमा ओली नै निर्वाचित हुनुभएको छ।
महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको थियो।
कम्युनिस्ट पार्टीमा शक्तिशाली तथा प्रभावशाली मानिने महासचिव पदमा ओली निकट नेता शङ्कर पोखरेलले १ हजार २ सय २८ मत पाएर विजयी बन्नुभयो। उहाँले खसेको मतमध्ये करिब ५५ प्रतिशत मत पाउनुभयो।
तीबाहेक पार्टी निर्वाचनमार्फत् ५ उपाध्यक्ष, ३ उपमहासचिव तथा ९ जना सचिवका रूपमा नयाँ पदाधिकारीहरू निर्वाचित हुनुभएको छ छन्।
ओलीको प्यानललाई सर्वाधिक सिट
ओली र पोखरेलका भिन्नाभिन्नै प्यानल बनेको भए तापनि मत परिणाममा ओलीको भनिएको प्यानलकै अत्यधिक उम्मेदवार विजयी भएको देखिएको छ।
उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु प्रसाद पौडेल, राम बहादुर थापा (बादल), गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित हुनुभयो ।
तीमध्ये पौडेल, गुरुङ, पन्त र थापा ओली प्यानलका अनि विष्टमात्र पोखरेल प्यानलका भनेर चिनिनुभएको थियो ।
त्यस्तै ३ जना उपमहासचिव पदमा जित्नेहरूमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई हुनुहुन्छ ।
तिनमा भट्ट र महासेठ ओली प्यानलको तथा भट्टराई पोखरेल प्यानलको भनेर प्रचार गरिएका थिए।
निर्वाचित भएका ९ जना सचिवमा महेश बस्नेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई तथा भानुभक्त ढकाल हुनुहुन्छ ।
तिनमा सबैजना ओली प्यानलको भनेर चिनिनुभएको थियो। नेकपा एमालेको १९ सदस्यीय पदाधिकारी टीममा जम्मा २ जनामात्र पोखरेल प्यानलका भनेर चिनिएकाहरू निर्वाचित भएको देखिएको छ। त्यस्तै उक्त टीममा पर्ने पद्माकुमारी अर्याल एकमात्र महिला हुनुहुन्छ ।
नेकपा एमाले र तात्कालिक नेकपा माओवादी केन्द्रको एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजन हुँदा ओलीसँगै एमालेमा बसेका पूर्वमाओवादी नेताद्वय रामबहादुर थापा ुबादलु र लेखराज भट्ट निर्वाचनमार्फत् पदाधिकारीमा दोहोरिनुभएको छ ।
थापा र भट्ट क्रमशः पार्टी उपाध्यक्ष र सचिव निर्वाचित हुनुभएको छ ।
३०१ जना केन्द्रीय सदस्य
अध्यक्षका निम्ति २ जना, उपाध्यक्षका निम्ति ११ जना, महासचिवका निम्ति २ जना, उपमहासचिवका निम्ति ७ जना, तथा सचिवका निम्ति २० जना मैदानमा उत्रिएका थिए।
महाधिवेशनले ३ सय १ जना केन्द्रीय सदस्य पनि चुनेको छ। ती पदका लागि ६ सय २२ जना उम्मेदवार थिए।
उक्त निर्वाचनमा २ हजार २ सय ६३ जना मतदाता रहेका थिए। तीमध्ये तीन दर्जन जतिले मत नखसालेको विवरण आएका थिए।
निर्वाचन निकै ढिलो गरी सम्पन्न भएकोमा धेरैले चासो प्रकट गरेका थिए।
ूछिटो मतदान गर्नेले ९ मिनेटभित्र अनि ढिलो गर्नेले २ घण्टा १२ मिनेटसम्म लागेको देखियो। प्रविधिको प्रयोग र इलेक्ट्रोनिक भोटिङ्को पहिलो प्रयोगका कारण कतिपय अलमलिएका थिए,ू नेकपा एमालेका प्रचार विभाग प्रमुख रहँदै आएका राजेन्द्र प्रसाद गौतमले बताउनुभयो ।
मतदानका लागि कुल ८० वटा मसिनको प्रयोग गरिएको थियो। ढिलो हुँदा धेरै बेर लाइनमा बस्न नपरोस् भनेर पालो पर्खिएका मतदाताहरूलाई कुपन बाँडिएको गौतमले बताउनुभयो ।
ूमतपरिणाम लगत्तै अब पार्टीले विभिन्न प्रस्तावहरू पारित गर्ने छ अनि निर्वाचितहरूको शपथ ग्रहण हुनेछ,ू गौतमले बताउनुभयो ।
नेकपा एमालेको महाधिवेशन सम्पन्न भएपश्चात् अब अर्को पुरानो र ठूलो दल नेपाली कांग्रेसको पनि यसै महिना हुने महाधिवेशनले धेरैको ध्यान खिच्ने छ।
भदौ २३ र २४ गते भएका प्रदर्शन तथा विध्वंसपश्चात् भएको राजनीतिक उथलपुथलबाट किनारामा पुगेका यी दुवै दलको नयाँ नेतृत्वसामु अब देशको राजनीतिलाई पूर्ण संवैधानिक मार्गमा ल्याउने चुनौती टड्कारो हुने जानकारहरू बताउँछन्।
भदौ २७ मा गठित सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते आमनिर्वाचनको घोषणा गरिसकेको छ।
तर अझै पनि निर्वाचन समयमै हुनेछ भन्नेबारे संशय कायम रहँदा यी दुई ठूला दलले खेल्ने भूमिका महत्त्वपूर्ण हुने देखिन्छ।
विजेताहरूले पाएको मत सङ्ख्या
अध्यक्ष: केपी शर्मा ओली – १६६३
उपाध्यक्ष:
पृथ्वी सुब्बा गुरुङ – १७३७
विष्णु प्रसाद पौडेल – १६७५
राम बहादुर थापा (बादल) – १५१६
गोकर्ण राज विष्ट – १३६८
रघुजी पन्त – १२५८
महासचिव:
शङ्कर पोखरेल – १२२८
उपमहासचिव:
लेखराज भट्ट – १४५२
रघुवीर महासेठ – १३६८
योगेश भट्टराई – १३४८
सचिव:
महेश बस्नेत – १५४४
पद्मा कुमारी अर्याल – १५३०
छविलाल विश्वकर्मा – १५०६
शेरधन राई – १५०३
हिक्मत कुमार कार्की – १३३७
खगराज अधिकारी – १२३१
यामलाल कँडेल – ११८५
राजन भट्टराई – ११८१
भानुभक्त ढकाल – ११०८


















