काठमाडौं, १२ पौष। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा शनिवार भएका रुकुम पश्चिम, नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरु विजयी भएका छन् ।
रुकुमपश्चिमद्धारा बुढानीलकण्ठ भलिबल क्लबमाथि ३–० सेटको जित
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा रुकुम पश्चिमले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
योसँगै समूह ‘बी’ मा रहेको रुकुम पश्चिमले ३ अंक हात पारेको छ। बुढानिलकण्ठले तीनवटै सेटमा चुनौती प्रस्तुत गरेको थियो। तर, तीन पाकिस्तानी खेलाडी मजर अली, वालिद खान र अहमद खानलाई पहिलोपल्ट टोलीबाट उतारेको रुकुम पश्चिमले सहजै खेलमा आफ्नो पकड बनायो।
पहिलो सेट रुकुम पश्चिमले २५–१९ ले आफ्नो बनायो। तर, दोस्रो र तेस्रो सेटमा बुढानिलकण्ठले उत्तिकै चुनौती दियो। तर, दुवै सेट २५–२१ ले गुमाउन पुग्यो।
कोशी पनि आर्मीसंग ३-० सेटमा पराजित
शनिवार नै सम्पन्न अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ निराशाजनक कोशी प्रदेशलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार कोशी ३–० को सोझो सेटमा पराजित भएको हो।
योसँगै समूह ‘डी’ मा रहेको आर्मीले ३ अंक हात पारेको छ। घरेलु भलिबलमा लामो समय आफ्नो दबदबा कायम राख्दै आएको आर्मीलाई कोशीले तीनवटै सेटमा चुनौती प्रस्तुत गरेको थियो। तर विजय निकाल्न सकेन ।
पहिलो सेट आर्मीले २५–२३ ले आफ्नो बनायो। कुनै समय आर्मी २०–१८ ले खेलमा पछि थियो। तर, आर्मीले पुनरागमन गर्यो। दोस्रो र तेस्रो सेटमा पनि कोशीले उत्तिकै चुनौती दियो। तर, दुवै सेट २७–२५ ले गुमाउन पुग्यो।
मधेशमाथि एपीएफको विजय
विभागीय टोली एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
योसँगै समूह ‘बी’ मा रहेको एपीएफले ३ अंक हात पारेको छ।
न्यु डायमन्डसंग चुली युवा क्लब ३–० सेटमा पराजित
पहिलो सेट २५–४ ले जितेको एपीएफले अर्को सेट २५–५ ले सहजै आफ्नो पार्यो। तेस्रो सेटमा पनि एपीएफ हाबी रहँदै २५–५ ले आफ्नो बनायो।
शनिवार भएको पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
पहिलो सेट २५–१० ले जितेको न्यु डाइमन्डले अर्को सेट २५–५ ले सहजै आफ्नो पार्यो। तेस्रो सेट पनि न्यु डायमण्डले २५–१५ ले जित्यो।


















