काठमाडौं, १२ पौष । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार कार्की ब्याँक्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गर्नुभएको थियो ।
“स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा बागमती प्रदेशका २४ वटा संस्था तथा ३ सय भन्दाबढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा भएको सम्मेलनको विभिन्न सत्रमा नेपालका प्रतिष्ठित लघुवित्त विज्ञहरुले नेपालमा लघुवित्तको महत्व, आवश्यकता र योगदानका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी, प्रभावकारी तथा दिगो बनाउने अभिप्रायले आयोजित सम्मेलनले युवा सदस्यहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने, सबै सरोकारवालाहरूलाई अझै जिम्मेवार र उत्तरदायी बनाउने तथा जिम्मेवार लघुवित्त अभ्यासको प्रबद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
सम्मेलनलाई समापन सत्रका प्रमुख अतिथि पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, लघुवित्त विज्ञ स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।


















