Prakash Adhikari December 28, 2025

काठमाडौं, १४ पौष। कांग्रेस नेता रमेश लेखक आज जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिन जाँदै हुनुहुन्छ ।

गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उहाँले आजको दिन चयन गर्नुभयो ।

आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसक्नुभएको थियो ।

लेखकको सचिवालयका अनुसार, सोमबार दिउँसो १२ बजे उनी बयानका लागि आयोगमा जानुहुनेछ । जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री हुनुुहुन्थ्यो। २३ गते स्थिति काबुबाहिर गएपछि पार्टीको पदाधिकारी बैठकको सल्लाह अनुरुप उहाँले राजिनामा दिनुभएको थियो ।

बयान सकिएपछि उहाँले दिउँसो साढे २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्नुहुने बताइएको छ ।

कार्की आयोगले तत्कालीन सरकारका जिम्मेवार पदाधिकारी,प्रशासक र सुरक्षा निकायका पदाधिकारीलाई बयानमा बोलाए पनि आन्दोलनका लागि विज्ञप्ति निकालेर, सामाजिक सञ्जालमा समर्थन गरेर नवयुवाहरुलाई उक्साउने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु, तात्कालिन माओवादी केन्द्रका नेताहरु र काठमाडौंका मेयर बालेन्द्र शाह र उहाँका कार्यकर्ताहरुलाई बोलाएको छैन । मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आइतबार भएको सहमतिमा जेनजी आन्दोलनको अपनत्व लिने सहमति भएकोले जेनजी आन्दोलनमा रास्वपा र बालेन्द्र शाहका कार्यकर्ताको घुसपैठ भएको स्वतःसिद्ध हुन आउछ । नेकपा माओवादीका तात्कालीन अध्यक्ष प्रचण्डले समेत सामाजिक सञ्जालमा आन्दोलनकारीलाई उक्साउनु भएकोले माओवादीको घुसपैठ पनि पुष्टि हुन्छ ।

सामाजिक सञ्जाल खुलाउने र भ्रष्टाचाररहित शासनको माग राख्दै आन्दोलनमा होमिएका नवयुवाहरुको प्रदर्शनलाई भड्काउने र उक्साउने शक्ति र व्यक्तिमाथि गौरीबहादुर कार्कीको आयोगले बयानका लागि पत्र नकाट्नु भने रहस्यमय बनेको छ ।

Share Now