Prakash Adhikari December 28, 2025

पोखरा(कास्की), १४ पौष । यसअघि स्थगित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २२औं संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतवार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय भएको जानकारी दिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पोखरामा हुने भनिएको अवार्ड अन्तिम समयमा स्थगित भएको थियो । यसैगरी स्पोटर्स अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताउनुभयो ।

यति एयरलाइन्सले अवार्डमा सहभागि हुने मनोननयमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रुपमा रहेको पिपल्स च्वाइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मञ्चका महासचिव अञ्जन खड्काले भन्नुभयो, ‘विगतमा पिपल्स च्वाइसको मनोनयन रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए । त्यहींबाट भोटिङ प्रकृया फेरि सुरु हुनेछ ।’ यस विधाको प्रतिस्पर्धा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

स्पोर्ट्स समिट पनि

स्पोर्ट्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोटर्स समिट हुनेछ ।

मञ्चका अध्यक्ष अधिकारीले अवार्डलाई चलायनमान बनाउन स्पोर्ट्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमीबारे बहस हुने जानकारी दिनुभयो ।

अवार्डका अन्य विषयहरू यथावत रहेको र केही नयाँ कम्पनीसँग सहकार्य भएको छ । गोल्छा ग्रुपसँगको मुख्य प्रायोजकको सम्झौताअनुरुप सहकार्य हुने नै छ । पोखरा महानगरपालिकाले अवार्डमा सहकार्य गर्नेछ । पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको छ ।

त्यसबाहेक सूर्य नेपाल प्रालि, डिटिजल भोटिङ पार्टनर आईएमई खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिड., राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, बाग्मती प्रदेश खेलकुद विकास परिषद, नेपाल पर्यटन बोर्ड र आईएमई हस्पिटालिटी पनि पार्टनरको रूपमा रहेका छन् ।

एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयां प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

Share Now