Prakash Adhikari December 30, 2025

 

काठमाडौं, १५ पौष । नेपाल पुलिस क्लब र एपीएफ क्लबको‌ महिला टोली नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ।

पुलिसले‌ आज भएको खेलमा एपीएफलाई ३-२ ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।

समूह ‘बी’ मा एक खेल गुमाएपनि अघिल्लो दुई खेल जितेको एपीएफ पनि अन्तिम चारमा पुगेको हो। एक खेल कम खेलेको पुलिस र एपीएफको समान ६ अंक छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुरुको‌ २ सेट लगातार जितेको पुलिसले त्यसपछि लगातार २ सेट गुमाएको थियो।

पुलिस २५-२१,२५-१५,२२-२५,२१-२५,१५-९ ले विजयी भएको थियो।

पुरुषतर्फ खिलजी र एपीएफ क्वाटरफाइनलमा

खिलजी युवा क्लब जित दर्ता गर्दै नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा पुगेको छ।

पाँचौं दिनको दोस्रो खेलमा‌ ढोरपाटन स्पोर्टस क्लबलाई ३-० ले हराउँदै अन्तिम आठमा पुगेको हो।

खिलजीले ढोरपाटन स्पोर्टस क्लबलाई २५-१५,२५-१९,२५-२३ ले हराएर समूह ‘बी’ मा पहिलो जित निकालेको हो ।

दुबै खेल जितेको नेपाल पुलिस क्लब यसअघि नै समूह विजेताका रुपमा नकआउट चरणमा पुगिसकेको छ। खिलजीले त्रिभुवन आर्मी क्लबसँग क्वाटरफाइनलमा खेल्नेछ।

त्यसअघि एपीएफ क्लबको पुरुष टोली नवौं एनभिए भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेको थियो।

मणिमकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले अन्तिम आठको यात्रा तय गरेको हो। समूह ‘ए’ को अन्तिम खेलमा‌ एपीएफले मणिमकुन्दलाई २५-१०,२५-१६,२९-२७ ले हराएको हो।

एपीएफ समूह उप विजेताका रुपमा नकआउट चरणमा पुगेको हो। दुबै खेल जित्दै टिप टप हेल्प नेपाल स्पोर्टस क्लब यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ। एपीएफले क्वाटरफाइनलमा समूह ‘सी’ को विजेता रुकुम पश्चिम भलिबल क्लबको सामना गर्नेछ।

Share Now