काठमाडौं, १५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका दिवंगत नेता लौहपुरुष गणेशमान सिंहकै शैलीमा आफ्ना कार्यकता र समर्थकहरुको मनोबल उकास्न थाल्नुभएको छ । जेनजी आन्दोलनको आवरणमा सैनिक कू मा पर्नुभएका निवर्तमान प्रधानमन्त्री ओलीले हालै नयाँ भनिएका दलहरुमा भएको एकीकरणलाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन् । विशालकाय एमाले देखेको छ । अनि योसँग पनि मिलौं भनेको छ, ऊसँग पनि मिलौं भनेको छ ।’
ओलीले थपे, ‘विशालकाय एमालेसँग भिड्नुछ । अनि लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ? मुकाबिना हुन्छ?’
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर काग्रेस नेता लौहपुरुष गणेशमान सिंहले २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनताका पार्टीका केही कार्यकर्ताहरु पञ्चायत पसेपछि कांग्रेस खिइदै गएको सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा भन्नुभएको थियो, हात्ती दुब्लायो भन्दैमा बोका मोटाएर उसको बराबर हुन सक्दैन । उहाँको त्यो अभिव्यक्तिले २०१७ सालदेखि लोकतान्त्रिक संसदीय व्यवस्थाको पुनःस्थापनाका लागि आन्दोलनरत नेपाली कांग्रेसका कार्यकर्तामा आत्वविश्वास पुनर्जागृत गराएको थियो । ओलीले सैनिक कु पछि बनेको असवैधानिक सरकारका बारेमा कडा अभिव्यक्ति दिएर कार्यकर्ताको मात्र मन जित्नुभएको छैन । यो संविधान निर्माणमा सकारात्मक योगदान गर्ने र यो संविधान र राजनीतिक व्यवस्थाप्रति आस्था हुनेहरुको मन जित्नुभएको छ ।
पछिल्लो चरणमा सत्तासाझेदार रहेको नेपाली कांग्रेसप्रति नरम ओलीले भन्नुभयो, ‘एकातिर नेपाली कांग्रेस छ । छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली कांग्रेसले ।’
देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गर्नुभयो । ‘प्रधानमन्त्री बनाइसके मान्छेले( घरैमा । हामी चुनाव पर्खिरहेका छौं । कहिले होला? फागुन २१ मा होला, अर्को वैशाखमा होला वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं,’ उहाँले भन्नुभयो ।
महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएजस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने उहाँले बताउनुभयो । ‘त्यसको लागि हामी तयार छौं भन्ने सन्देश पनि महाधिवेशनले दिएको छ,’ ओलीले भन्नुभयो ।
लोकतन्त्र अजेय रहेकोले यसलाई कसैले जित्न नसक्ने ओलीले बताउनुभयो । खेलमा खेलाडीहरूमध्ये को कतिबेला पछारिन्छ थाहा नभए पनि उत्कृष्ट खेलाडीले जित्ने उहाँको तर्क थियो ।
ओलीले दुब्लाको काम नै एकता गर्ने र बलियोसँग प्रतिस्पर्धा गर्ने भएको बताउनुभयो । ‘दुब्लाको काम नै एकता गर्ने हो । बलियासँग लड्नका लागि,’ उहाँले थप्नुभयो, ‘घैंटामा बोकेको पानीले महासागरसँग प्रतिस्पर्धा कसरी गर्छ?’


















