Prakash Adhikari January 2, 2026

ओस्मन्ड चिआ, वाणिज्य संवाददाता /बीबीसी

सिंगापुर, १९ पौष । इलोन मस्कको स्वामित्वमा रहेको टेस्लालाई उछिन्दै चिनियाँ कम्पनी बीवाईडी विद्युतीय सवारीसाधन (ईभी) को सबैभन्दा ठूलो विक्रेता बन्न लागेको छ।

गत वर्षको तथ्याङ्क बिहीवार सार्वजनिक गर्दै उक्त कम्पनीले २२.५ लाखवटा बीवाईडी कार बिक्री भएका र त्यो अघिल्लो वर्षको भन्दा २८ प्रतिशत बढी भएको जनाएको छ।

टेस्लाले सन् २०२५ मा आफूले बेचेका विद्युतीय सवारीसाधनको सङ्ख्या शुक्रवार सार्वजनिक गर्न लागेको छ। यद्यपि विश्लेषकहरूले गरेको अनुमानअनुसार गत वर्ष विश्वभरि झन्डै १६.५ लाखवटा टेस्ला कारहरू बिक्री भएका थिए।

विभिन्न कम्पनीले बजारमा कम मूल्यमा कार बेचेका कारण र मस्कको राजनीतिक गतिविधिबाट उत्पन्न असहज परिस्थितिका कारण सो अमेरिकी कम्पनी गत वर्ष अप्ठेरोमा परेको थियो। चिनियाँ कम्पनीहरूले पनि विद्युतीय सवारीसाधनको बजारमा प्रतिस्पर्धा बढाए।

अक्टोबरमा टेस्लाले बिक्री बढाउन अमेरिकामा सर्वाधिक बिक्री हुने गरेका दुईवटा मोडेललाई सस्तो मूल्यमा पनि उपलब्ध गराउने जनायो। बजारमा प्रतिस्पर्धा कायम रहने गरी नयाँ र धेरै उपभोक्ताहरूले किन्न सक्ने सवारीसाधन ल्याउन ढिलो गरेको भन्दै टेस्लाको आलोचना हुने गरेको थियो।

मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। कम्पनीले आगामी एक दशकमा टेस्लाको बिक्री र शेअर मूल्य बढाउने जिम्मा उनलाई दिएको छ। गत नोभेम्बरमा टेस्ला कम्पनीका शेअरहोल्डरहरूले मस्कलाई तलबभत्ता र सुविधाबापत झन्डै १० खर्ब अमेरिकी डलर भुक्तानी दिने प्रस्ताव पारित गरेका थिए।

उक्त सहमतिअनुसार मस्कले मान्छेजस्ता देखिने १० लाखवटा ह्यूमनोइड रोबट पनि १० वर्षभित्र बेच्नुपर्ने छ। टेस्लाले “अप्टिमस” र स्वचालित “रोबोट्याक्सी”मा ठूलो लगानी गरेको छ।

मस्क टेस्लामा बाहेक सामाजिक सञ्जाल ‘एक्स’, रकेट कम्पनी स्पेसएक्स र सुरुङ खन्ने ‘बोरिङ कम्पनी’मा पनि संलग्न छन्।

मस्क ट्रम्प प्रशासनमा संलग्न भएपछि सन् २०२५ मा सुरुका तीन महिनामा टेस्लाको बिक्री घटेको थियो।

राजनीति र अन्य व्यापारमा संलग्न भएकाले मस्कले टेस्लामा पर्याप्त ध्यान दिन नसकेको केही लगानीकर्ताहरूले औँल्याएका थिए।

त्यसपछि मस्कले अमेरिकाको प्रशासनमा आफ्नो भूमिका घटाउने वाचा गरे।

केही वर्षदेखि बीवाईडीले तीव्र गतिमा बजार लिँदै आएको छ। यद्यपि पाँच वर्षको अवधिमा सन् २०२५ मा उक्त कम्पनीको बिक्री सबैभन्दा कम दरमा भएको हो।

बीवाईडीको सबैभन्दा ठूलो बजार चीन हो। शन्जनमा मुख्यालय रहेको उक्त कम्पनीले देशभित्रै चर्को प्रतिस्पर्धा खेप्नुपरेको छ। चीनमा शाओपेङ (XPeng) र निओ (Nio) जस्ता कम्पनीहरूले उत्पादन गरेका विद्युतीय सवारीसाधनहरू पनि लोकप्रिय हुँदै गएका छन्।

यद्यपि बीवाईडी विश्वभरि विद्युतीय सवारीसाधनको बजारमा शक्तिशाली कम्पनीका रूपमा कायम छ। बीवाईडीका ईभीहरू प्रायजसो प्रतिस्पर्धी कम्पनीले बनाउने सवारीसाधनभन्दा सस्ता हुन्छन्।

धेरै देशहरूले चिनियाँ विद्युतीय सवारीसाधनमा चर्को भन्सार शुल्क लगाएका छन्। तर बीवाईडीले विशेष गरी ल्याटिन अमेरिका, दक्षिणपूर्वी एशिया र युरोपका केही भागमा तीव्र गतिमा बजार लिँदै गएको छ।

गत अक्टोबरमा बीवाईडीले यूके आफ्ना लागि चीनबाहिर सबैभन्दा ठूलो बजार भएको बताएको थियो। सो कम्पनीका अनुसार सेप्टेम्बर महिनाको अन्त्यसम्म एक वर्षको अवधिमा यूकेमा बीवाईडीको बिक्री ८८ प्रतिशतले बढेको थियो। ‘सील यू’ एसयूभीको प्लग-इन हाइब्रिड संस्करणको माग बढेकाले बीवाईडीको बिक्री बढेको हो।

Share Now