Prakash Adhikari January 2, 2026

काठमाडौं, १९ पौष । नेपाल आयल नियमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएपछि सोही अनुपातमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ ।

प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडामा लाग्ने फ्युल सर्चार्ज समायोजन गरेको हो।

प्राधिकरणले दिएको जानकारी अनुसार काठमाडौंबाट धनगढीका लागि फ्युल सर्चार्ज २ सय ६५ रुपैयाँले घटेर ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ।

सबैभन्दा टाढाको जनकपुर–धनगढी रुटमा ३ सय ३० रुपैयाँ र सबैभन्दा नजिकको काठमाडौं–सिमरामा ५५ रुपैयाँ फ्युल सर्चार्ज घटेको छ।

समायोजन भएको मूल्य अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा कम लाग्ने छ । धनगढीमा यस अघि ५ हजार ९ सय २० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ ।

माउन्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ घटेको छ । काठमाडौं–भद्रपुर २ सय ४५ रुपैयाँ भाडा घटेको छ । क्षेत्रीय उडानमा भने अझ धेरै घटेको छ ।

जनकपुर–नेपालगञ्ज रुटको २७० र जनकपुर–धनगढी रुटको ३ सय ३० रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । काठमाडौं–सिमरा ५५ रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । हवाई भाडामा फ्युल सरचार्ज एक शीर्षक हो । यसमा विभिन्न प्रकारका करसहित वायुसेवा कम्पनीले लिने भाडासमेत जोडेपछि मात्र पूर्ण भाडादर कायम हुन्छ ।

कुन सेक्टरमा कति घट्यो फ्युल सर्चार्ज

काठमाडौं–माउन्टेन फ्लाइट रु २१०

काठमाडौं–भद्रपुर रु १८०

काठमाडौं–विराटनगर रु १४०

काठमाडौं–जनकपुर रु ७५

काठमाडौं–पोखरा रु ९५

काठमाडौं–भरतपुर रु ६५

काठमाडौं–भैरहवा रु १२५

काठमाडौं–नेपालगञ्ज रु १९५

काठमाडौं–धनगढी रु २६५

काठमाडौं–तुम्लिङटार रु ११०

काठमाडौं–सिमरा रु ५५

काठमाडौं–सुर्खेत रु २१०

काठमाडौं–राजविराज रु १२५

 

निगमले यसरी घटायो इन्घन मूल्य
 नेपाल आयल निगमले पौष १७ गतेदेखि लागू हुनेगरी  पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको थियो ।
    इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ १९ पैसा, डिजेलमा पाँच रुपैयाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ १५ पैसा घटाएको छ । एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आएको छ ।
सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ, डिजेल÷मट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।
बिहीबार बिहानदेखि लागू भएको इन्धन मूल्यमा  एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, डिजेल÷मट्टितेलको मूल्य क्रमशः १३४ रुपैयाँ ५० पैसा, १३६ रुपैयाँ र १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।
Share Now