काठमाडौं, १९ पौष । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको दुवैतर्फका तेस्रो स्थानको खेल सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फको तेस्रो स्थानको लागि भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा नेपाल आर्मीलाई पराजित गरेको छ।
एपीएफलाई आर्मीले कुनै पनि सेटमा चुनौती दिन सकेन। एपीएफले तीन सेट २५–१३, २५–१७ र २५–१० ले जित्यो।
पुरुषतर्फ रुकुम पश्चिमलाई हराउँदै पुलिस तेस्रो
आजै भएको पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल पुलिस क्लबले रुकुमपश्चिम ट्रेनिड. सेन्टरलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३–२ सेटले पराजित गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेल पाँच सेटसम्म पुगेको थियो। खेलको पहिलो सेट रुकुम पश्चिमले २७–२५ ले जिते पनि दोस्रो सेट नेपाल पुलिस क्लबले २५–२३ ले आफ्नो पक्षमा पार्यो।
तेस्रो सेटमा पुलिस क्लबले २६–२४ को संघर्षपूर्ण जित निकाल्दा चौथो सेट २५–२२ रुकुमले जित्दै खेललाई निर्णायक सेटमा पुर्यायो। अन्तिम तथा निर्णायक पाँचौं सेटमा नेपाल पुलिस क्लबले १५–१० को स्पष्ट जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो।


















