काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्न संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
सभापति देउवाले सरकारले प्रहरी, सेना, न्यायालयसहित कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका नेता, कार्यकर्तालाई संगठित हुन निर्देशन दिनुभएको हो ।
पार्टी निकट कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिन सचेत रहनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।
सभापति देउवाले कर्मचारीतन्त्रलाई हस्तक्षेपमुक्त बनाउने पार्टीको नीति रहेको पनि दाबी गर्नुभयो।
कांग्रेस सभापति देउवाले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दाबी पनि गर्नुभएको थियो।
प्रमुख प्रतिपक्षको रूपमा नेपाली कांग्रेसको भूमिका कमजोर देखिएको भन्दै आलोचना भइरहेका बेला सभापति देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गनुभयो।
उहाँले अवकाश प्राप्त पार्टी निकट कर्मचारीहरूलाई पार्टीले उचित स्थान दिने आश्वासन पनि दिनुभयो।


















