
दमौली(तनहुँ), १९ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासनको कुरा गर्ने ओली सरकारका पालामा सबैभन्दा ठूलो भ्रष्टाचारको काण्ड भएको आरोप लगानुभएको छ ।
गृहजिल्ला तनहुँको दमौलीमा रिपोर्टस क्लबले गरेको अन्तरक्रियामा कांग्रेसका बरिष्ठ नेता पौडेलले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी जहाज खरिदमा नियमकानून ठाडो उल्लंघन गरेर भ्रष्टाचार गरिएको दाबी गर्नुभयो। ‘ओलीजीले भ्रष्टाचार हटाउँछु भन्दा हामीले पनि साथ दिने सोचेका थियौं’, उहाँले भन्नुभयो, ‘तर सरकारले एउटै खरिदमा अर्बौंको घोटाला गरेको छ।’
उहाँले घोटालाको विरोध भएपछि गठित छानविन समितिमा उल्टै संदिग्ध व्यक्तिहरु रहेको भन्दै कटाक्ष गर्नुभयो। ‘दूधको साक्षी बिरालो राखिएको छ,’ उहाँले भन्नुभयो, ‘यसरी त छानबिन नै हुँदैन।’
नेता पौडेलले ओली सरकारको पालामा सबैभन्दा बढी गैरकानूनी ढंगबाट काम भएको आरोप पनि लगाउनुभयो ।
नेता पौडेलले प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दै हिँडे पनि गाउँमा विकास पनि नपुगेको बताउनुभयो। ‘देशका ठाउँ(ठाउँमा विकास पुग्नुपर्ने हो’, उनले भने, ‘शिक्षा, कृषिमा सुधार हुन सकेको छैन।’
राजनीतिक स्थायित्व कायम भएकोबेलामा कांग्रेसको नेतृत्वमा सरकार भएको भए समृद्धिको बाटो पक्डने उहाँले दाबी गर्नुभयो।
उहाँले देशमा संघीयता भनिए पनि केन्द्रीय सरकारले अधिकार हस्तान्तरण नगर्दा विकास बढ्न नसकेको उल्लेख गर्नुभायो।
नेता पौडेलले पार्टी सञ्चालनका आधारभूत विषयमा आफू र देउवाबीच अहिले पनि अन्तर रहेको दाबी गर्नुभयो। ‘देउवाजी र मेरो दूरी हटेको छैन,’ उहाँले भन्नभयो, ‘तर हरेक कुरामा विरोध गरेर पनि भएन नि’।
उहाँले सबै कुरामा लडेर नहुने भन्दै पार्टीलाई एक नम्बर बनाउने कुरामा सहमति भएको बताउनुभयो।
आगामी महाधिवेशनमा पार्टी सभापतिमा उठने सन्दर्भमा भने उहाँले खुलेर बोल्न चाहनुभएन । यद्यपि कोईराला परिवारसँग आफ्नो सम्बन्ध अझै पनि राम्रो रहेको दाबी भने उहाँले गर्नुभयो ।