होक्काइडो(जापान) २१ भदौ (बीबीसी) । जापानको होक्काइडो द्वीपमा एउटा शक्तिशाली भूकम्पका कारण पहिरोहरू गएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार ती घटनाहरूमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४० जनाजति हराइरहेका छन्।
भूकम्प ६.७ म्याग्निट्युडको भएको र त्यसले ३० लाख घरलाई विद्युत् उपलब्ध गराउने थर्मल पावर प्लान्टमा क्षति पुर्याएको छ। पहिरोको प्रकोपमा धेरै घरहरू परेका छन्।
केही दिनदेखि पश्चिम जापान एउटा विनाशकारी समुद्री आँधीका कारण प्रभावित भएको छ। अहिले उत्तरी द्वीप होक्काइडोले पनि प्राकृतिक विपत्ति खेप्नुपरेको छ।
जेबी नाम दिइएको समुद्री आँधी २५ वर्षयताकै सर्वाधिक शक्तिशाली रहेको बताइन्छ। आँधीका कारण १० जनाको मृत्यु भएको छ भने व्यापक क्षति पुगेको बताइन्छ।
बिहान सबेरै गएको भूकम्पको केन्द्रविन्दु होक्काइडोको सदरमुकाम साप्पोरोभन्दा ६३ किलोमिटर दक्षिणपूर्वमा रहेको छ।
शक्तिशाली भए पनि भूकम्पका कारण सुनामीको जोखिम भने नभएको जापानको मौसमको भविष्यवाणी गर्ने निकायले जनाएको छ।


स्थानीयवासी र यात्रुहरूले सामाजिक सञ्जालमा भूकम्पबारे लेखेका छन्।
केहीले थप भूकम्प जाने त्रासले खाद्यपदार्थको जोहो गर्न खोजेकाले पसलहरूमा भिड लागेको उल्लेख गरेका छन्।
परकम्प जाने सम्भावना रहेको भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
जापान भौगर्भक रूपमै उच्च भूकम्पीय गतिविधि भएको देश हो। संसारभरि जाने ६.० म्याग्निट्युड वा सो भन्दा बढी क्षमताका २० प्रतिशत भूकम्पहरू जापानमै जाने गरेको वैज्ञानिकहरू बताउँछन्।



















