Prakash Adhikari September 6, 2018

ढाका(बंगालादेश),२१ भदौ । साफ च्याम्पियनसिप अन्तरगत बंगलादेशको राजधानी ढाकामा भैरहेको फूटबल खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ ।

पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । प्रतियोगितामा यो नेपालको दोस्रो खेल हो ।

खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए ।

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्‍याए ।

भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४-० ले जिताए ।

Share Now

Leave a comment.