क्वाललम्पुर(मलेशिया),२१ भदौ । हङकङ एशिया कपका लागि छनोट भएको छ । छनोट प्रतियोगिताको फाइनलमा बिहीबार युएईलाई पराजित गरी हङकङले एशिया कपमा स्थान बनाएको हो ।
युएईमा आगामी सेप्टेम्बर १५ देखि २८ सम्म हुने प्रतियोगितामा हङकङले भारत र पाकिस्तान रहेको समूह एबाट खेल्नेछ ।
एशिया कपमा एशियाका पाँच टेष्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनोट भएका थिए भने हङकङले छनोट चरण पार गरेको हो ।
बिहीबार भएको फाइनलमा युएई आफ्नै मुलुकमा हुने एशिया कपमा स्थान बनाउन असफल रह्यो । उसले हङकङसँग डकवर्थ लेविस नियमका आधारमा २ विकेटको पराजय ब्यहोरेको हो ।
किनरारा ओभलमा भएको फाइनलमा २४ ओभरमा घटाइएको खेलमा हङकङले युएईले दिएको १७९ रनको लक्ष्य ३ बल अगावै ८ विकेट गुमाएर पुरा गरेको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २४ ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
नेपाललाई पराजित गरेपछि हंगकंगको भने भाग्य चम्कियो ।
नेपालसँग तीन विकेटले विजयी भएको हङकङले रनरेटका आधारमा ओमानलाई पछि पार्दै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा अपराजित रहदै आएको ओमान अन्तिम खेलमा युएईसँग १३ रनले पराजित भएको थियो ।
युएई ८ अंकका साथ शिर्ष स्थानमा रहदै फाइनलमा पुग्यो भने ओमान र हङकङको समान सात सात अंक भएपनि रेनरेटका आधारमा ओमानलाई पछि पार्दै हङकङले फाइनल यात्रा गर्यो ।


















