काठमाडौँ, २१ भाद्र । एनआरएनए अमेरिकाबाट नागरिकता सम्बन्धी विधेयक सच्याउन पहल गर्ने उद्देश्यले नेपाल आएको टिमसँगको भेटमा पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गैर आवासीय नेपाली नागरिकतामा आफ्नो पार्टीबाट पूर्ण सहयोग हुने बताउनुभयो ।

बार्ताटोलीमा एनआरएनए अमेरिकाका उपाध्यक्ष जेदु पोख्रेल, सदस्य सञ्जय थापा, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदिप पन्त, रिजउड सोसाइटी न्युयोर्कका भुवन अधिकारी, रविन बज्राचार्य, सहभागी हुनुभएको थियो । अमेरिकाबाट आएको प्रतिनिधिमण्डलको आग्रहमा गैर आवासीय नेपाली संघका महासचिव बद्री के.सी., संरक्षक एवं नागरिकता निरन्तरता कमिटीका संयोजक राम प्रताप थापा पनि सो भेटवार्तामा सहभागी हुनुभएको थियो ।
गैर आवासीय नेपालीहरूलाई दिने नागरिकतामा सच्याउनुपर्ने कुराहरूको विषयमा जेदु पोखरेल, संजय थापा तथा बद्री केसीले आफ्ना एवं संस्थाका धारणाहरू राख्नु भएको थियो। नेपाल आएको टोलीले राज्य व्यवस्था समितिका सभासदहरुलाइ भेट्ने कार्यक्रम रहेको छ ।

आजै एनआरएनए अमेरिकाबाट गैर आवासीय नागरिकताको लागि पहल गर्न आएको टोलीले नेकपा पार्टीको सचेतक शान्ति चौधरी, युवा नेता एवं सांसद योगेश भट्टराई, पूर्व मन्त्री एवं सांसद खगराज अधिकारी र नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालासँग विधेयक सम्बन्धमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

हालै राज्य व्यवस्था एवं सुशासन समितिमा विचाराधीन रहेको गैर आवासीय नेपालीहरूलाई दिने नागरिकतामा संशोधन प्रस्ताव दर्ता गरेका संसदद्वय कृष्णभक्त पोखरेल र सूर्य पाठकले भेटवार्ता गर्ने टिमका साथीहरूलाई सहजीकरण गर्नुका साथै गैर आवासीय संघले उठाएको जायज मागहरूलाई आफूहरूले सम्बन्धित ठाउँमा पुर्याउने बचन दिनु भयो ।


















