नयाँ दिल्ली, २२ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाल र भारत दुवै देशमा विद्यमान विविधता विकासको लागि दुर्लभ अवसर भएकाे बताउनु भएकाे छ ।
‘इण्डियन काउन्सिल फर वर्ल्ड अफेयर्स- आइसीडब्लुए’द्वारा आयोजना गरिएको ‘सप्रू हाउस लेक्चर’को ३१ औँ शृंखलामा ‘रिसेन्ट डिभेलपमेंट्स इन नेपाल एंड एड्भान्सिङ इण्डिया-नेपाल पार्टनरसिप फर शेयर्ड प्रोस्पेरिटी’ (नेपालमा पछिल्लो विकासक्रम एवं साझा समृद्धिका लागि भारत-नेपाल साझेदारी) विषयमा भारतीय बुद्धिजीवीहरूमाझ सम्बाेधनका क्रममा यस्ताे बताउनु भएकाे हाे ।
अध्यक्ष प्रचण्डले नेपाल र भारतका थुप्रै चुनौतीहरू रहेको र ती चुनौतीहरूसँग जुझ्न साझा पहल आवश्यक रहेको बताउनु भयाे । भारतको राजधानीमा एक व्याख्यानका क्रममा अध्यक्ष प्रचण्डले दुई छिमेकीबीचको पारस्परिक सम्बन्ध अन्य दुई देशबिचको सम्बन्धभन्दा विशिष्ट हुने भन्दै एक-अर्काको सम्प्रभुता, भौगोलिक अक्षुणताले आपसी विश्वास र समझदारी झनै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयाे ।
नेपालमा राजनैतिक परिवर्तन भइसकेको र देश अब आर्थिक परिवर्तनको बाटोमा रहेको उल्लेख गर्दै प्रचन्डले भन्नुभयाे, “आर्थिक रुपान्तरणबिना राजनैतिक उपलब्धिलाई संस्थागत गर्न सकिंदैन ।”
नेपाल र भारतबीचको पारस्परिक सम्बन्धलाई मात्र दुई देशबीचको सम्बन्धका रूपमा हेर्न नहुने बताउँदै प्रचण्डले भन्नुभयाे, पारस्परिक विश्वासको वातावरण र एक अर्काका संवेदनशीलतालाई बुझ्ने र सम्मान गर्ने गर्नाले सम्बन्ध अझै प्रगाढ हुन्छ ।”
मन्तब्यका क्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालका ऐतिहासिक परिवर्तनहरु भारतको सहयोग र समन्वयले संभव भएको पनि बताउनुभयो ।
उहाँले शान्त,समृद्ध र विकसित लोकतान्त्रिक नेपाल छिमेकीहरु,यस क्षेत्र र विश्वको हितमा हुने प्रष्टयाउनुभयो ।
प्रधानमन्त्री मोदीले छोटो अवधिमा नै चार-चार पटक नेपालको भ्रमण गरेर १७ वर्ष लामो शुन्यता तोडिदिएको र यसले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले सीमामा नेपालीहरू प्रति हुने दुर्व्यवहार रोक्न मुख्य नाकाहरूमा एकीकृत चेकपोस्ट स्थापना गर्नुपर्नेमा समेत जोड दिनुभयाे ।
‘सप्रू हाउस लेक्चर शृंखलामा यो प्रचण्डको दोसो सम्बाेधन हो । यस अघि उहाँले सन् २०१३ मा तेस्रो शृंखलामा समेत व्याख्यान दिनुभएकाे थियाे ।


















