
काठमाडौं, २१ भदौ । नेपाली सेना र संयुक्त राज्य अमेरिका इण्डो प्यासेफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टिलिजेन्सको संयुक्त आयोजनामा एसिया प्यासिफिक क्षेत्रमा पर्ने मित्रराष्ट्रहरुका उच्च सैनिक रथी तथा अधिकृत प्रतिनिधिहरुको सहभागितामा भाद्र १८ गतेबाट आरम्भ भएको ११ औँ एशिया प्यासेफिक इन्टिलिजेन्स् चिफस् सम्मेलन बुधबार समापन भएको छ ।
सम्मेलनको नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्तराज कुँवरले होटल हायतमा एक समारोहका बीच समापन गर्नु भएको थियो ।
नेपालमा पहिलो पटक सञ्चालन भएको यस सम्मेलनमा अस्ट्रेलिया, अमेरिका, बंगलादेश, बु्रनाई, बेलायत, कम्बोडिया, क्यानडा, फिजी, फ्रान्स, ईन्डोनेशिया, जापान, कोरिया, मलेशिया, मंगोलिया, नेपाल, न्यूजिल्याण्ड, पपुवान्यूगिनी, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, टिमोर—लेस्ते, टोंगा, भियतनाम गरी जम्मा २३ राष्ट्रहरुका उच्च तहका सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा सहभागी मित्रराष्ट्रहरुका रथीबृन्द तथा अधिकृतहरुलाई नेपालको पर्यटकीय स्थल स्याङबोचे, पाटन दरवार स्क्वायर र स्वयम्भूनाथको अवलोकन भ्रमण गराईएको थियो ।
सन् २००७ मा मलेशियाबाट सुरुवात भएको यस एपीआईसीसीको बाह्रौ संस्करण आगामी वर्ष २०१९ मा फिलिपिन्समा हुने तय भएको छ ।
यस बहु—राष्ट्रिय संयुक्त कन्फरेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान हुन गई सैनिक इन्टिलिजेन्स क्षमतामा थप अभिबृद्धि गर्न मद्धत पुग्नुको साथै मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ भएको विश्वास नेपाली सेनाले लिएको छ । समापन समारोहमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।