काठमाडौँ, १६ बैशाख । कुनै समय कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको बुई चढेर नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएका गगनकुमार थापाले सभापति भएपछि आफ्ना राजनीतिक गुरुको पद चट् गरिदिनुभएको छ ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफू पनि चुनाव हारेर पार्टीलाई पनि सर्मनाक अवस्थामा पुर्याउनु भएका थापाले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाउनुभएको छ ।
पार्टीको वृहत्तर हितको निमित्त विशेष महाधिवेशन उपयुक्त छैन र यसलाई पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व चयनको स्थितिमा पुर्याउन हुँदैन भन्ने मान्यता राख्दै आउनु भएका सिटौलालाई राष्ट्रिय सभाको नेताबाट हटाएर बुधबार कमला पन्तलाई त्यो जिम्मेवारी दिइएको छ।
सभापति थापाले प्रतिनिधि सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेमार्फत यो प्रतिशोध लिनुभएको हो । उहाँले सिटौलालाई हटाएर नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गर्नुभएको हो।
पहिलो संविधान सभामा समानुपातिक पद्धतिमार्फत संविधानसभाको सदस्य बन्नुभएका थापा त्यो बेला कसरी संविधानसभाको सदस्यमा तानिनुभयो भन्ने कुरा कांग्रेसमा अझै चर्चा हुने गरेको छ ।
समानुपातिक सूचिका अन्तिमतिर राखेर वरिष्ठता मिचेर उहाँलाई समानुपातिक सांसद बनाउन र त्यसपछिका चुनावमा टिकट दिलाउन तथा पार्टीको राजनीतिमा ल्याउन उहाँलाई कृष्णप्रसाद सिटौलाले आड भरोसा दिनुभएको थियो । त्यसको गुन राष्ट्रिय सभाको नेताबाट हटाएर उहाँले तिर्नुभएको छ ।


















