Prakash Adhikari May 31, 2026

सिंगापुर, १७ जेठ । ओपनर कुशल भूर्तेलको शानदार शतकीय पारीमा नेपालले एसियाली खेलकुद पुरूष क्रिकेट छनोटमा चीनसमक्ष ३ सय १४ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा २ विकेटको क्षतिमा ३ सय १३ रन बनायो।

ओपनर आशिफ शेख ११ रन जोड्दै आउट हुँदा नेपालले २२ रन बनाएको थियो। यसपछि कुशल मल्ल र कुशल भुर्तेलले सानदार साझेदारी गर्दै चिनका बलरहरूलाई निराश बनाए। उनीहरूले दोस्रो विकेटको लागि १ सय ७५ रनको साझेदारी गरे।

भुर्तेलले १ सय २९ रन बनाउँदै व्यक्तिगत सर्वाधिक रन जोडे। उनले यसअघि फिलिपिन्स विरूद्ध १ सय ४ रन बनाएका थिए। आज चीनविरूद्ध भुर्तेलले ४३ बल खेल्दै १६ छक्का र ५ चौका प्रहार गरे। उनले छक्काबाट ९६ र चौकाबाट २० रन गरी बाउन्ड्रीबाट मात्रै १ सय १६ रन बनाए।

यसअघि भुर्तेलले ३५ औं बलमा चौका प्रहार गर्दै शतक पूरा गरे । यो क्रममा नवौं ओभरमा लगातार ६ छक्का समेत प्रहार गरेका थिए। टि २० आईमा यो उनको दोस्रो शतक हो। साथै उनी नेपालको लागि टि २० आईमा सर्वाधिक व्यक्तिगत रन बनाउने दोस्रो खेलाडी बने। कुशलले आज १ सय ३७ रन बनाएका छन्।

आजकै खेलमा उनी टि २० आईमा २ हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बने। यसअघि दीपेन्द्र सिंह ऐरीले मात्र २ हजार रन पूरा गरेका थिए ।

भुर्तेल आउट भएपछि कुशल मल्ल र रोहित पौडेल क्रिजमा जमे। उनीहरूले तेस्रो विकेटका लागि अर्को शतकीय साझेदारी गरे। अविजित १ सय १६ रनको साझेदारी गर्ने क्रममा दुवैले अर्धशतक बनाए।

मल्लले ४७ बल खेल्दै ८ चौका र ५ छक्का सहित अविजित ८५ रन बनाए। रोहित २१ बल खेल्दै ५ चौका र ७ छक्का सहित अविजित ६९ रनमा बनाए।

नेपाललाई रोक्ने क्रममा चीनका मा क्वीनचेक र चेन जीन्कीले १ । १ विकेट लिए।

जारी छनोटबाट सेमिफाइनलमा पुग्ने चार राष्ट्र २० औं एसियाली खेलकुदमा छनोट हुनेछन्। नेपालले गत संस्करणको एसियाली खेलकुद खेलेको थियो।

Share Now