Prakash Adhikari September 27, 2018

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ।

वरिष्ठ नेता पौडेलले निर्मला पन्त हत्याकाण्डको छानविन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले उक्त हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको गम्भीर आरोपसमेत लगाएका छन्। निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको वरिष्ठ नेता पौडेलको दाबी छ।

युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहीबार स्वदेश फर्कनुभएका वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरूको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गर्नुभएको छ।

वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीहरूलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरूको भूमिका र महत्त्व झनै बढेर गएको पनि स्मरण गराउनुभयो।

१० दिन लामो युरोपको बसाइँका क्रममा नेता पौडेल, लम्जेम्बर्ग,वेल्जियम,फ्रान्स, स्पेन, स्वीजरल्याण्ड,जर्मनी र नेदरल्याण्डसका जनसम्पर्क समितिले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो ।

Share Now

Leave a comment.