Prakash Adhikari July 22, 2026

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले ग्रीन रन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको समापन समारोहलाई संबोधन गर्दै पार्टी सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमाथि व्यंग्य गर्दै राजनीतिमा संयम र दूरदृष्टिको खाँचो रहेको बताउनुभयो ।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा थापाले ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि व्यंग्य गर्नुभयो ।

उहाँले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर, दृढ संकल्पित भएर र रत्तिभर विचलित नभई अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

थापाले नेपाली कांग्रेसले अब बीपी कोइरालाका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताउनुभयो । जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डा बनाउने उद्देश्यले पार्टीले विज्ञहरूसँग छलफल सुरु गरेको र त्यसबाट आएका सुझावलाई नीति निर्माणमा समेटिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा थापाले कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको र त्यसमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको जानकारी पनि दिनुभयो। उहाँका अनुसार उक्त रकम तत्कालका लागि विस्थापित सुकुमवासी परिवार, विशेषगरी एकल महिला र शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकाको सहयोगमा खर्च गरिने छ ।

थापाले ‘ग्रिन रन’ केवल जनचेतनामूलक कार्यक्रम नभई नयाँ सामाजिक अभियानको सुरुआत भएको उल्लेख गर्दै कांग्रेसले देशव्यापी नयाँ अभियान विहीबार सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।

Share Now