काठमाडौं, ३० असोज । नेपाली कांग्रेसका निर्वाचित महामन्त्री डा.शशांक कोइरालाको निवासमा पार्टी सभापति शेरबहादुर देउवाविरोधी नेताहरुको भेला सम्पन्न गरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १२ दिने धार्मिक कार्यक्रमको शिलशिलामा यही आज असोज ३० गते छिमेकी राष्ट्र भारतको दिल्ली प्रस्थान गर्नु हुने भएको छ ।
धार्मिक कार्यक्रमको नाम दिइएको यो भ्रमणका क्रममा उहाँले बोध गया , बद्रीनाथ धाम , केदारनाथ धाम , हरिद्वार , ऋषिकेश आदि धार्मिक स्थलमा पुजा आजा समेत गर्नु हुने कार्यक्रम रहेको उहाँको पारिवारिक स्रोत जानकारी दिएको छ ।
भारतमा कट्टर हिन्दु पक्षधर पार्टी भारतीय जनता पार्टीको सरकार सत्तामा रहेको बेला भारतका प्रसिद्ध हिन्दु तीर्थस्थलको भ्रमणमा निस्कनुभएका कांग्रेसका वरिष्ठ नेता पौडेलले सत्तारुढ पार्टीका हिन्दुवादी नेताहरुसंंगको भेटघाटको भने टुंगो लागि नसकेको बताइन्छ ।
तर कांग्रेसका निर्वाचित महामन्त्री डा. शशांक कोइरालाको निवासमा भएको पार्टी सभापति देउवा इतरका नेताहरुको बैठकले भने राजधानीमा तरड.्ग नै ल्याएको छ ।
सोमवार बिहान करिब तीन घण्टा बसेको बैठकमा मस्यौदा समितिले तयार पार्दै गरेको विधानलाई आफ्ना तर्फबाट कस्तो बनाउन पहल गर्नेबारे छलफल भएको बताइएको छ । दशैंका कारण धेरै नेता काठमाडौंबाहिर गएकोले बैठकबाट निष्कर्ष भने आई सकेको छैन ।
बैठकमा वरिष्ठ नेता पौडेल, नेता प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, दीपक गिरी, धनराज गुरुङलगायत नेताहरूको सहभागिता थियो।
विधान मस्यौदा समितिमा रहेका संस्थापनइतर समूहका सदस्यहरूले बनाइँदै गरेको विधानका बारेमा पनि जानकारी गराएका थिए। बैठकमा सहभागी नेताहरूले पार्टीभित्र सामूहिक नेतृत्व नै आवश्यक रहेको ठहर गरेका छन् । पार्टी सभापतिलाई बढी अधिकार दिंदा अधिनायकवादी शैली हावी हुने ठहर गर्दै बैठकमा सहभागी नेताहरुले केन्द्रीय पदाधिकारी सबै निर्वाचित हुनुपर्ने धारणा व्यक्त गरेका थिए । सहभागीहरुले अधिकारहरू तल्लो तहमा पुर्याएपछि केन्द्रमा सामूहिक नेतृत्व हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।
पार्टी सभापतिमा अधिकार केन्द्रीत गर्दा सभापति निष्क्रिय रहदा पार्टी सिथिल हुने र अधिक सक्रिय हुँदा अरुको भूमिका कमजोर हुने डर देउवा इतर खेमामा फैलिएको छ ।


















