काठमाडौँ,४ कात्तिक(रासस) । दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।
गत असोज २४ गतेका लागि तोकेको बैठक पटक पटक सरेकामा आज र भोलि(आइतबार र सोमबार)का लागि तय गरिएको हो। बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महिनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने बताइएको थियो।


















