काठमाडौं, २४ मंसिर । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियन लिग बिगब्यास खेल्न आइतबार राति अस्ट्रेलिया उडेका छन्।
मेर्लबर्न स्टार्ससंग आबद्ध सन्दीप आइतबार राती ९ : ५५ बजे सिल्क एअरबाट अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।
अस्ट्रेलिया जानु अघि एभरेस्ट प्रिमियर लिगको दोश्रो खेलमा उनले ३ विकेट लिएका थिए । इपीएलमा उनी ललितपुर प्याट्रीएट्ससंग आबद्ध भएका थिए । उनी दोस्रो खेलमा प्लेयर अफ द म्याच भए।
बिगब्यास लिगका लागि अत्यन्त उत्साहित रहेको बताएका सन्दीप अहिलेसम्म खेलेका फ़्रेञ्चाइज लिगहरु अनुभव र आफ्नो उत्कृष्ट नतिजालाई निरन्तरता दिएर नेपालको नाम क्रिकेट जगतमा अझ माथि पुरयाउने इरादा रहेको बताए ।
बिग ब्यास लिग अन्तर्गत सन्दिपको टिम मेर्लबर्न स्टारर्सले डिसेम्बर २१ तारिकमा सिड्नी थन्डर्ससंग खेल्दैछ भने २४ डिसेम्बरमा होबर्ट हुरीकेन्स, २७ डिसेम्बरमा सिड्नी सिक्सर्ससंग खेल्नेछ।
मेर्लबर्न स्टारर्सले सन्दिपलाई गत महिना टिममा आबद्ध गरेको थियो। बिग ब्यास खेलेबापत सन्दिपले ६०-७० हजार डलर पाउने बताईएको छ। मेर्लबर्न स्टार्स टिममा ग्लेन म्याक्सवेल, ड्वेन ब्राभो, एडम जाम्पा, पिटर ह्यान्ड्सकम्ब जस्ता खेलाडीहरु रहेका छन्।
बिग ब्यास लिगको बीचमा सन्दिप बंगलादेशमा आयोजना हुने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न सँन्दीप बंगलादेश आउनेछन्। बंगलादेश प्रिमियर लिगमा सन्दीप स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।
“पहिलेनै सम्झौता भए अनुसार धेरै अगाडीनै बंगलादेश प्रिमियर लिगमा आबद्ध भएको थिए, मेरो प्रतिबद्धता अनुसार ५(६ खेल बिग ब्यासमा खेलेपछि बंगलादेश प्रिमियर लिग खेल्न फर्किनेछु र बीचमा नेपालको खेल परे पनि आउनेछु, त्यसपछि म पुनः बिग ब्यासमा फर्कनेछु”
स्यलहेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा जनवरी ६ तारिकमा कोमिल्ला भिक्टोरियन्ससंग खेल्दैछ। प्रतियोगिताको फाइनल फेब्रुवरी १ तारिकमा खेलिनेछ। बिग ब्यास लिग फेब्रुवरी १० तारिकसम्म चल्नेछ।
सन्दीप अस्ट्रेलियामा राम्रो प्रदर्शन गर्न सकिनेमा ढुक्क छन् ।पहिले पनि अस्ट्रेलिया गएको हुनाले फरक पीचमा पनि राम्रो गर्न सकिने विश्वासमा उनमा रहेको छ ।
बिग व्यासमा एउटा टिमले २ जना मात्र बिदेशी खेलाडी खेलाउने भएकोले त्यसमा पर्न प्रयासरत सन्दीप प्रतियोगिता अघि पाउने अवसरको सदुपयोग गर्दै २ जना भित्र स्थान बनाउनेमा ढुक्क छन् ।
एभेरस्ट प्रिमियर लिगमा पनि सन्दीपको प्रदर्शन राम्रो रह्यो । बिराटनगर वारियर्ससंगको पहिलो खेलमा २ विकेट लिए भने दोश्रो खेलमा चितवन टाइगर्ससंग ३ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिए।
सन्दीपले यसअघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्।
इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा, क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउनेछन् भने बंगलादेश प्रिमियर लिगमा पाउने मूल्य भने खुलेको छैन।
आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए। केरला नाईटस्मा आबद्ध भएर खेलिएको टी- १० मा उनले कूल ६ विकेट लिएका थिए ।