Prakash Adhikari January 10, 2019

काठमाडौं, २६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठलाई १ करोड ३४ लाखभन्दाबढी रकम बराबरको सम्पत्ति पदको दुरुपयोग गरि गैरकानुनी ढंगले आर्जन गरेको अभियोग सहित काठमाडौं विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले उहाँले सार्वजनिक पद धारण गरेको मिति २०३८माघ २८ गतेदेखि जाँच अवधिमा रू.२ करोड १० लाख ७७ हजार ४ रुपैया १६ पैसा आय आर्जन गरेको र सोही अवधिमा आफू र आफ्नो परिवारका सदस्यहरूको नाममा चल अचल सम्पत्ति सिर्जना एवं सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी रू.३ करोपड ४४ लाख ७७ हजार ५ सय ८० रुपैया ९२ पैसा खर्च गरेको भेटिएको जनाउदै वैध आयको तुलनामा रू.१ करोड ३४ लाख ५ सय ७६ रुपैया ७६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको जनाएको छ ।

अख्तियारले आयको तुलनामा बढी देखिएको सम्पत्तिको स्रोत पुष्टी गर्न अमसर्थ भएकोले उहाँ उपर १ करोड ३४ लाख ५ सय ७६ रुपैया ७६ पैसा विगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग), दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन तथा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत समेत गरी पाउन मागदावी लिइ विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

सार्वजनिक सेवाको पदमा रहेर उहाँले गैरकानुनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू निजकी श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको देखिए जनाउदै सो सम्पत्ति जफत गरी पाउन मागदाबी लिने र सो चल अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि निजकी श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीलाई समेत प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौँमा आरोप(पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जनाउनुभएको छ ।

Share Now

Leave a comment.