काठमाडौं, २६ पुस । गैर आवासीय नेपाली संघका केन्द्रीय कार्यसमिति र क्षेत्रीय संयोजकहरुको आमनेसामने बैठक भोलिदेखि राजधानीमा हुनेभएको छ ।
संघले दिएको जानकारी अनुसार एनआरएन आईसीसीका पदाधिकारी तथा सदस्यहरु र क्षेत्रीय संयोजकहरु राजधानी आउने क्रम शुरु भएको छ । अहिलेसम्म एनआरएन आइसिसी उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, ओसनीया क्षेत्रका संयोजक धर्मराज अधिकारी काठमाडौं आइपुग्नुभएको छ एनआरएन सल्लाहकार रामप्रताप थापा जर्मनीबाट हिडिसक्नुभएको छ ।
भोलिदेखि हुने बैठकमा विश्वभरीका एनआरएनका आइसिसी अन्तर्गत रहेका एनआरएनका आइसिसी पदाधिकारी, आइसिसी सदस्य, सल्लाहकार, विभिन्न समितिका संयोजक सम्मिलित हुनुहुनेछ ।
संसारभर छरिएर रहेका एनआरएनएको केन्द्रीय समितिको बैठक विधान अनुसार तीन तीन महिनामा स्काईपमार्फत बैठक बस्दै आएको छ ।
सम्पूर्ण सदस्य तथा पदाधिकारीहरु,कार्यक्रम संयोजकहरु र क्षेत्रीय संयोजकहरु आमनेसामने भेला भएर हुने शुक्रबारदेखिको बैठकलाई भने निकै अर्थपूर्ण रुपमा लिइएको छ । एनआएनले गत वर्ष धुलिखेलमा फेस टु फेस बैठक आह्रवान गरेको थियो ।
सो बैठकले एक वर्षको कार्यप्रगति समिक्षा गर्दै आगामी रणनीति तय गरेको थियो ।
एनआरएन आइसीसी अध्यक्ष भवन भट्टले यो आमनेसामने बैठकले एनआरएनको कार्यप्रगतिको समिक्षा र आगामी योजनाको विषयमा गहिरो छलफल गर्ने जानकारी दिनुभएको छ । बैठकले आठौ विश्व सम्मेलनपछिको नेतृत्वका कार्यप्रगतिको समिक्षा गर्नेछ भने बाँकि समयमा गर्न सकिने कार्यको टुंगो लगाउनेछ । बैठकका लागि विभिन्न विषयमा एजेन्डा तय गरिएको र सोही अनुसार बैठक सञ्चालन हुने महासचिव बद्री केसीले जानकारी दिनुभएको छ ।


















